• १२ पुस २०८१, शुक्रबार

परिवार नै आत्मीयताको पहिलो पाठशाला

blog

हर कोही मान्छे जति सुखी, निरोगी बन्ने चाहना राख्छ त्यसरी नै सबैको प्रिय पनि बन्न चाहन्छ उ । आत्मीय सम्बन्धले नै उ सबैको प्रिय पात्र बन्ने हो । अनि सबैसँगको निकटता र त्यही आत्मीय सम्बन्धले परिवार एवं आफन्तजनलगायत सबैसँगको व्यवहारमा मिठास पनि ल्याउँछ । त्यस किसिमको बानी–व्यवहार भएमा कुनै पनि व्यक्तिमा स्वतस्फूर्त रूपमा खुसी जागरित हुन्छ र त्यस प्रकारको बानी–व्यवहारले हर कोही व्यक्तिलाई सधैँ प्रफुल्ल बनाउँछ । यस्तो खुसीपूर्ण जीवनयापनले नै व्यक्तिको जीवनमा खुसियाली छाउँछ अनि उ प्रायजसो प्रसन्न हुन्छ । यसो भएमा मानिस ठूल्ठूला काम सम्पन्न गर्न पनि उसलाई सहज हुने र यसबाट नै मानिस स्वयंलाई आफ्नो जीवनकालमा सधैँ खुसी र निरोगी बन्न पनि सघाउ पुग्छ । यसका लागि सुुरुदेखि नै स्वयंको असल व्यवहार र कर्म सधैँ अपेक्षित रहन्छ । त्यसैले भाइबहिनीहरू, यस्तो व्यक्तित्वको विकास गर्न पहिलो पाठशाला आफ्नै परिवार भएकोले यहीँबाट नै आफ्नो व्यवहार र असल कर्मलाई आत्मसात् गर्दै जानुपर्छ है त ।

भाइबहिनीहरू, यस्तो असल बानी–व्यहोराको चाहना राख्दैमा मात्र हुँदैन । त्यसका लागि आफू स्वयंको असल कर्म र सबैसँग घुलमिल हुने, आत्मीयता प्रकट गर्ने, असल ज्ञानगुनका कुरा सुन्ने तथा आफ्नो परिवार एवं समाजभित्रका असल बानी–व्यवहारको सिको गर्नेजस्ता कुराको परिपालना गर्नु जरुरी हुन्छ किनकि सबैसँग प्रिय बन्न खोज्ने, आत्मीय बन्ने अनि सुखी–निरोगी बन्ने चाहना प्रायजसोको नहुने कुरै भएन तर त्यसका लागि चाहना गरेर वा राखेर मात्र हुँदैन । सुरुदेखि नै त्यस किसिमको असल बानी–व्यवहारलाई सबैले आत्मसात् गर्दै जान सक्नुपर्छ । 

भाइबहिनीहरू, यी सबै असल बानी–व्यवहारको चाहना राख्ने प्रवृत्ति रहनु मानिस सबैको प्राकृतिक गुण नै हो । स्वभावैले यो उसको प्रकृतिप्रदत्त स्वभाव पनि हो तर यसअघि भनियो नि, त्यस्तो चाहना राखेर मात्र हुँदैन । यसका लागि उसको सुरुदेखि नै असल कर्म, बानी–व्यवहार र असल एवं सकारात्मक सोच राख्न सक्नुपर्छ । यससँगै सबैसँग घुलमिल हुने, आत्मीय बन्ने र सहयोगी भावना राख्नेलगायतको स्वभाव हुनु पनि त्यत्तिकै जरुरी छ । सबैसँगको आत्मीय सम्बन्ध बलियो भएमा नै सबैको प्रिय बन्न सकिन्छ । यसो भएमा उ जीवनमा कहिल्यै दुखी हुनु पर्दैन, बरु उ सधैँ सुखी हुन्छ, सबैको प्रिय बन्छ र जीवनमा उ निरोगी पनि हुन्छ । सकारात्मक सोचका साथ अघि बढ्दा र मनैदेखि सुखी हुँदा उ स्वास्थ्यका दृष्टिकोणले निरोगी बन्ने हो । यो प्रयत्नसँगै त्यस अनुसारको कर्म पूरा गर्दै जानुुपर्छ । आफन्तजन, आफ्नै परिवार र आफ्नो गाउँ, समाजसँगको प्रियतम् बानी–व्यवहारले उ सुखीमय बन्ने मात्र नभई उसको भावी जीवन नै सार्थक बन्दै जान्छ ।

मानिस स्वभावैले एक किसिमको स्वार्थी प्राणी पनि हो तर स्वार्थ भन्दैमा सकारात्मक स्वार्थ रहनु उसको दोष होइन । मात्र के हो भने उसको निहित स्वार्थले अरूलाई हानि नपु¥याओस् अर्थात् नकारात्मक स्वार्थ नहोस् । सबैसँग आत्मीय व्यवहार छ भने त्यस्तो कुनै प्रसङ्ग वा चिजमा सकारात्मक किसिमले स्वार्थ राख्नुमा अस्वाभाविक मानिँदैन । आफ्नै घरपरिवारका सदस्य हुन् वा समाजका कुनै सदस्य, यी सबैमा केही न केही स्वार्थ अवश्य हुन्छ तर त्यस्तो स्वार्थ सकारात्मक र स्वस्थ भए पुग्छ । त्यसैले भाइबहिनीहरू, यस्तो असल बानी–व्यवहारका लागि माथि भनिएझैं आफ्नो घरपरिवार पहिलो पाठशाला भएकाले घरपरिवारसँग बेलाबेलामा कुरा गर्ने, कुनै विषयमा छलफल गर्ने, सँगै बसेर खाना खाने र सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्ने बानी–व्यवहारको विकास गर्नुपर्दछ ।

भाइबहिनीहरू, आजभोलि सहरी होस् वा ग्रामीणस्तरमै पनि पछिल्लो अव्यस्त जीवनशैलीले गर्दा बालबालिकाले अभिभावकसँग कम कुरा गर्ने, छलफल नगर्ने, आआफैँ वा अलग–अलग समयमा खाना खाने प्रवृत्ति मौलाउँदो छ । यसो गर्नु ठीक होइन । यस्तै अभिभावकहरूले पनि यस कुरामा ध्यान पु¥याउनु आवश्यक छ किनकि सँगै बसेर कुरा गर्ने, कुनै समस्या भए बताउने, सँगै बसेर खाना खाने, प्रायजसौ परिवार सदस्यहरू सँगै बस्ने अनि छलफल गर्नेजस्ता बानी–व्यवहारले सबैमा एक अर्काप्रति आत्मीयता बढ्छ । यसो नभए आफ्नै छोराछोरी पनि अभिभावकबाट क्रमशः टाढा हुँदै जान्छन् जुन कुराको पत्तो नै हुँदैन । त्यसैले परिवार होस् वा समाजका कुनै पनि सदस्य, सबैमा आत्मीय निकटता जरुरी छ । यस किसिमको बानी–व्यवहारबाट  बालबालिकामा कुनै समस्या भए त्यस समस्याको समाधानमा पनि सघाउ पुग्छ । साथै पारिवारिक रूपमा हुने छलफल, खानपिन, असल बानी–व्यवहारलगायतका जति पनि काम–कुरा हुन्छन् ती सबै बालबालिकाले सिक्छन, बुझ्दछन् । 

भाइबहिनीहरू, यसै बानी व्यवहारको विकास होस् भनेर विश्वमा अर्थात् अन्तर्राष्ट्रिय रूपमा पनि प्रत्येक वर्ष मे १५ तारिखको दिनलाई अन्तर्राष्ट्रिय परिवार दिवस मनाइने गरिएको छ । यस दिनमा विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइन्छ, जुन कुरा सबैलाई हेक्का नहुन पनि सक्छ । राम्रो कुराको सिको सधैँ गर्नुपर्छ । त्यसैले यो विषय सामान्यजस्तो लागे पनि राम्रो र प्रभावकारी विषय भएको हुनाले नै यो दिवस मनाउने गरिएको हो । यो दिवस, कहाँ, के कसरी र को कोसँग बसेर मनाउने त्यो कुरा आआफैँ कार्यक्रम तय गर्ने कुरा भयो तर अरू केही भएन भने पनि कम्तीमा आआफ्नो परिवारसँग बसेर भए पनि मनाउनु चाहिँ पर्छ । त्यसैले यो दिवसबाहेक पनि सधैँ परिवारसँग घुलमिल हुने, सकारात्मक कुरा, बानी–बेहोराबारे छलफल गर्ने, परिवारसँग कहीँ, कतै हिँडडुल गर्ने, घूमघाम गर्ने र कम्तीमा पनि दिनको एक पटक परिवारका सबै सदस्य सँगै बसेर  खाना खानेलगायतका बानी–व्यवहारका कुरामा विशेष ध्यान दिनुपर्छ है त ।