• २० वैशाख २०८१, बिहिबार

भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि

blog

काठमाडौँ, असार २२ गते । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।

नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म अमेरिकामा कुल निर्यात १५ अर्ब ९७ करोड सात लाख एक हजार रुपियाँको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६३ करोड ४९ लाख ५३ लाख रुपियाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा अमेरिकामा कुुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ लाख रुपियाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख नौ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।



२०७६/७७ मा अमेरिकामा कुल निर्यात नौ अर्ब ४४ करोड ४३ लाख ६६ हजार भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३५ करोड ४८ लाख ७९ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा कुल निर्यात १० अर्ब ८४ करोड आठ लाख ६२ हजार भएकोमा छुट पाएका वस्तुको निर्यात ६८ करोड ३८ लाख १८ हजार रुपियाँको भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा अमेरिकामा कुल निर्यात नौ अर्बको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६७ करोड १२ लाख तीन हजार रुपियाँको भएको थियो । 

अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्म नेपाललाई ७७ वटा वस्तुहरूमा भन्सार छुटको सुविधा दिएको छ । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर ७७ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । सोहीअनुसार भन्सार छुटमा ७७ वटा वस्तु निर्यात भइरहेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश पाण्डे स्वदेशी वस्तुको उत्पादन बढाउन सके अमेरिकामा भन्सार छुट पाएका वस्तुको निर्यात थप बढाउन सक्ने बताउनुभयो । निर्यात बढाउन नयाँ–नयाँ प्रविधि ल्याएर उत्पादन बढाउन सकियो भने अमेरिकाजस्ता अन्य मुलुकले दिएको भन्सार छुटको सुविधा उपयोग गरेर स्वदेशी वस्तुको निर्यात बढाउन सकिन्छ सचिव पाण्डले भन्नुभयो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पूर्वसचिव चन्द्र घिमिरेले उत्पादनलाई मोडिफाइ गर्न नसक्नु र व्यवसायीले अरू वस्तु पनि भन्सार छुटमा समावेश गर्न माग गरेकाले लक्ष्यअनुसार निर्यात बढ्न नसकेको बताउनुभयो । भन्सार छुट दिएका कतिपय वस्तुको निर्यात बढेको छ र कतिको छैन, घिमिरेले भन्नुभयो, “उच्च माग भएका वस्तुलाई उत्पादन प्रणालीमा लैजान नसक्दा अमेरिकाले दिएको सुविधा पनि उपयोग गर्न सकिएको छैन ।” 

अमेरिकामा फेल्टजन्य सामानको माग उच्च भएकाले उत्पादन बढाएर निर्यात बढाउन सकिने उहाँले जानकारी दिनुभयो । यसअघि अमेरिकामा नेपाली वस्तुको निर्यातमा हाल १७ देखि ३३ प्रतिशतसम्म भन्सार लाग्दै आएको थियो ।ठूलो स्केलनमा उत्पादन गर्न नसक्दा मागअनुसार समान निर्यात गर्न नसकिएकोे व्यापार विज्ञ रविशङ्कर सैंजुले जानकारी दिनुभयो ।

स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि सम्झौता भए पनि जुन कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ । “मुलुकमा ठूलो मात्रामा वस्तु उत्पादन गर्न सकियो भने अमेरिकी बजारमा निर्यात बढाउन सकिन्छ, अन्तरनिकायबीच संस्थागत समन्वयको कमजोरीले निर्यातमा दिएको सुविधासमेत उपयोग गर्न नसक्दा निर्यात बढाउन सकिएको छैन, सैंजुले भन्नुभयो ।