गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबिच अध्यागमन विभागले उक्त सूचनामार्फत स्पष्ट पारेको हो ।
अध्यागमन विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजातबाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख छ । अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुन अनुसार प्रक्रिया स्पष्ट गरेको जनाएको छ ।
विभागका अनुसार गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्था अनुसार भ्रमण भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा छ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्ने छ ।
यस्तै वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ । विभागले विदेश जाने नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रहसमेत गरेको छ ।
यसअघि वैदेशिक रोजगार विभागले चैत २९ देखि लागु हुने गरी हवाई टिकट, त्यसको बिल तथा म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको थियो ।