• ४ जेठ २०८३, सोमबार

प्रतिनिधिसभा बैठक : संसद्‌मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग

blog

प्रतिनिधि सभाको बैठकमा सहभागी सांसदहरू । फाइल तस्बिर

काठमाडौँ,  जेठ ४ गते । संसद्‌मा समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रूपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारले संसदीय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जाने समेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो । 

संसदीय मामिलामा समाचार सङ्कलन गर्ने पत्रकारका लागि नयाँ संसद् भवनमा स्थान अभाव छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मिडिया सेन्टरको व्यवस्था भए पनि अहिलेको भवनमा सहज व्यवस्था नभएपछि सांसदले संसद्‌मै यो विषय उठाएका हुन् । बानेश्वरमा संसद सञ्चालन हुँदा पनि मिडिया सेन्टरमै सुरक्षाकर्मी पनि बस्ने गर्दा हल्लाले समाचार सङ्कलन गर्न  कठिन हुने गरेको थियो ।

सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गर्नुभयो । सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद गणेश धिमालले पर्यटकीय स्थल सिम्रौनगढको विकासका लागि त्यहाँ जाने सडकको मुआब्जा दिएर अलपत्र रहेको सडक निर्माण पूरा गर्न माग गर्नुभयो । सांसद गणेश पराजुलीले चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले छिटो काम गराउन माग गर्नुभयो ।

सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले पुर्जा भएको जग्गाका धनी पनि सुकुमवासी भएको सुनाउँदै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित बनाएको बताउनुभयो ।

सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रूपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउनुभयो  । उहाँले उनीहरूको समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्नुभयो । दार्चुलामा टावर जडानमा ढिलाइ भएकाले छिटो सञ्चार सेवा उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।

सांसद गीता गुरुङले विद्यार्थी राजनीति अराजकता हो भने छानबिन सांसदहरूबाट नै सुरु गर्न र सत्तारूढ दलका नेतामाथि पनि उठेको प्रश्नको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद गीताकुमारी सेन्दाङले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउनुपर्ने माग गर्नुभयो । सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएर पीडित भई कानुन बमोजिम तोकिएको रकम प्राप्त गर्न पीडितले कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्तो किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ग्रेटर नेपालको नक्सा कता गयो भनी प्रश्न गर्नुभएको थियो । 

मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी सार्वजनिक भएकाले के हो भनी त्यसको वास्तविकता जनसमक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारमा रहेका मन्त्रीहरूले सार्वजनिक गर्नुभएको सम्पत्तिमा उल्लेख गरिएका सुनको बिल सार्वजनिक गर्न पनि सांसद श्रेष्ठले माग गर्नुभएको थियो । 

सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बिउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउनुहुँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा सरकारले डोजर लगाएर हटाउन खोजेकाले ज्येष्ठ नागरिकको पनि बिचल्ली भएको बताउँदै भूमिहीन सुकुमवासीका समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद ऐनबहादुर महरले बझाङका भुवन बोहरा नवलपरासीमा दुर्घटनामा परी निधन भएकाले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिने किसिमको व्यवस्था गर्न माग गर्नुभयो । रासस