• १३ असोज २०८१, आइतबार

नदी कटानलाई रोक्न नदीसम्बन्धी ऐन आवश्यक : सांसद सार्की

blog

काठमाडौं, असार २० गते । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले नदी कटानलाई रोक्नका लागि नदीसम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रियसभा बैठकको विशेष समयमा भाग लिनुहुँदै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढङ्गले उत्खनन भएको जानकारी दिनुभयो ।

उहाँले गिट्टी, बालुवा निकालेर सीमित मानिसहरु धनी हुने तर खेतीयोग्य जमिन र घरहरुमा नोक्सान हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि नदी ऐनको व्यवस्था हुनुपर्ने पनि बताउनुभयो ।

सांसद आछामीले आपत्कालीन नदी नियन्त्रणमा बजेट शून्य भएको भन्दै आपत्कालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

‘‘नदी कटानसँग जोडिएको विषय भनेको चाहिं यो अनावश्यक र अवैधानिक ढङ्गले उत्खनन गरिएका क्रसर उद्योग छन् । अनावश्यक गिट्टी, बालुवा निकालिएको छ । केही सीमित, मुट्ठीभरका मानिसहरु धनी हुने र खेतीयोग्य जमिन र घरहरुको नोक्सान हुने जस्तो जुन स्थिति भएको छ यसका लागि हामीलाई नदीसम्बन्धी ऐनको आवश्यकता छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नदी ऐनको व्यवस्था गरेर यसलाई नियन्त्रण गर्ने हिसाबले जानु जरुरी हुन्छ भन्ने मलाई लाग्दछ । अर्को कुरा आपत्कालीन नदी नियन्त्रणमा बजेट  शून्य गरिएको रहेछ । त्यहाँ बजेट व्यवस्था गरिनुपर्छ । आपत्कालीन नदी नियन्त्रण कोषमा बजेट व्यवस्था नहुनु भनेको असाध्यै दुःखद कुरा हो ।’’

उहाँले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिब एक हजार २६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न माग गर्नुभयो ।

स्थानीय तहमै मतदाता नामावली सङ्कलनको काम गर्न पनि माग गर्नुभयो । सांसद आछामीले काठमाडौंको सडकमा व्यापार गरेर जीविका चलाइराखेका नागरिकहरुको व्यवस्थापनमा नेपाल सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।