• १८ चैत २०८२, बुधबार

थारू समुदायको मुद्दा प्राथमिकतामा

blog

धनगढी समाचारदाता

धनगढी, चैत १८ गते । राजनीतिमा लाग्नुअघि शिक्षण पेसामा सक्रिय उहाँलाई थारूसहित पिछडिएका अन्य समुदायका लागि काम गर्नु पर्छ भन्ने लाग्दथ्यो । कुनैबेला नीतिनिर्माण तहमा पुगे भने यी समुदायको आवाज सशक्त रूपमा उठाउँछु भन्ने उहाँलाई मनमनै लाग्थ्यो । उहाँको त्यो मनको इच्छा यतिबेला पूरा भएको छ । उहाँ अर्थात् करिश्मा कठरिया अब कानुन निर्माण गर्ने थलो सङ्घीय संसद्को माननीय बन्नुभएको छ । 

दुई वर्ष नेपालगन्जको एक निजी विद्यालयमा अध्यापनपछि उहाँले कैलालीको टीकापुर नगरपालिका–१ मा रहेको जनज्योति आधारभूत विद्यालयमा चार वर्षसम्म अध्यापन गराउँदै प्रधानाध्यापकसमेत भएर काम गर्नुभयो । 

अध्यापनका क्रममा समुदायसँग जोडिँदै गर्दा उहाँको मानसपटलमा यही कुरा खेलिरहन्थ्यो । “हाम्रो समुदाय अत्यन्त पिछडिएको छ । समुदायका लागि मैले केही गर्नु पर्छ । थुप्रै मुद्दा छन् तर कसले बोल्दिने ? अब बोल्ने चाहिँ म आफैँ हुनु पर्छ ।”

थारू कलस्टरभित्र पनि उपकलस्टर र निकै पिछडिएको कठरिया जातिकी उहाँलाई यही चिन्तनले राजनीतितर्फ डो¥यायो । तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट सक्रिय राजनीति सुरु गरेकी कठरिया अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बन्नुभएको छ । कठरिया थारू समुदायबाट संसद्मा पुग्ने पहिलो व्यक्ति भएको उहाँ भन्नुहुन्छ, “थारू समुदायको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण गर्नु मेरो उद्देश्य हो ।” राज्यका हरेक निकायमा कठरिया थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । “भाषा, संस्कृति, रहनसहन, खानपान, मान्यताको संवर्धन गर्दै विशेष समुदाय भनेर देशभरि चिनाउने मेरो प्रयत्न रहने छ,” उहाँले भन्नुभयो । पहिचानको मुद्दाबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी कठरियाको प्राथमिकतामा थारू समुदायको मुद्दा रहेको छ ।

अधिकार प्राप्तिका लागि थारू समुदायले विद्रोह गरे पनि उनीहरूको मुद्दा अपुरो रहेको उहाँको बुझाइ छ । अपुरो मुद्दालाई विशेष प्राथमिकता दिने भन्दै उहाँले समाधानका लागि सदनमा आवाज उठाउने उल्लेख गर्नुभयो । पहिचान पक्षधर नेता रास्वपामा समायोजन हुँदै गर्दा सो दलसँग गरेको सहमतिको बुँदामा थारू समुदायको मुद्दा सम्बोधन गर्ने विषय पनि उल्लेख भएको कठरियाको भनाइ छ । 

चुनावताका जनताको घरदैलोसम्म पुग्दै गर्दा थुप्र्रै्र समस्यासँग साक्षात्कार भएको भन्दै उहाँले क्रमागत रूपमा विकासको कामलाई अगाडि बढाइने बताउनुभयो । जिल्लाभित्र भूमिको ठुलोे समस्या रहेको उहाँको भनाइ छ । अव्यवस्थित बसोबास, भूमिहीन, मुक्त कमैया, बाढीपीडितका मुद्दा राष्ट्रिय समस्या रहेकाले नीतिगत रूपमै समाधानका लागि अगाडि बढ्ने उहाँले बताउनुभयो । कठरियाले भन्नुभयो, “समस्या व्यापक छन् । प्राथमिकताका आधारमा हामीले विकासको काम अगाडि बढाउँछौँ ।”

महिलालाई निर्णायक तहमा पुर्‍याउनका लागि उनीहरूलाई अग्रपङ्क्तिमा राख्नुपर्ने उहाँको जोड छ । महिलाका हकमा घटिरहेको अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो । कठरियाले कैलाली बाढीग्रस्त जिल्ला रहेकाले यहाँ बाढीमैत्री कृषि प्रणालीको विकास गर्नुपर्ने बताउँदै बाढी, डुबान हुने क्षेत्रमा सुरक्षित पुनर्बास, स्थायी आवास, खेतीको सर्वसुलभ व्यवस्था गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

उहाँले स्थानीय तह र समुदायको नेतृत्वमा सामुदायिक विपत् व्यवस्थापन सङ्घ स्थापना गर्ने आफूले योजना बनाएको बताउनुभयो । किसानले भोग्दै आएका समस्यालाई  गम्भीरतापूर्वक लिएको बताउँदै कठरियाले किसानका समस्या समाधान गर्न सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गर्नुभयो । कृषि र पर्यटन जोड्नका लागि थारू गाउँहरूलाई नमुना गाउँ घोषणा गर्नुपर्ने बताउँदै कठरिया भन्नुहुन्छ, “किसानलाई प्रविधिमैत्री बनाउने अभियान पनि सञ्चालन गर्ने योजना बनाएको छु ।”