• १६ चैत २०८०, शुक्रबार

नेपालमा २० हजारभन्दा बढी नर्स र मिडवाइफ आवश्यक

blog

फाइल तस्बिर

काठमाडौं, असार १६ गते। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सिङ तथा मिड्वाइफी सम्बन्धी १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।

महाशाखाले बिहीबार एक कार्यक्रम गर्दै राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्री रणनीति २०७७/७८-८७/८८ सार्वजनिक गरेको हो।सरकारले नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको विकास र विस्तारका लागि १० वर्षे रणनीति ल्याएको महाशाखाकी निर्देशक गोमादेवी निरौलाले जानकारी दिनुभयो।

रणनीतिमा १० वर्षमा स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँचका लागि नर्सिङ तथा मिडवाइफ्री सेवाको गुणस्तर बढाएर जनशक्तिको व्यवस्थापन गर्ने उल्लेख छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले रणनीति तयार गरेरमात्रै नहुने यसको कार्यन्ययनमा स्वास्थ्य नियमक निकाय र तीनै तहको सरकारले गम्भीरतापूर्वक दिएर कार्यन्ययन पक्षमा अगाडि बढ्दामात्रै रणनीति सार्वजनिक सफल हने बताउनुभयो।

नेपालको सबै भूभागमा स्वास्थ्य सेवा पुग्न नसकेमा रणानीति सफल हुन नसक्ने मन्त्री खापुङले बताउनुभयो।उहाँले भन्नुभयो, “मन्त्रालय आएपछि दुर्गममा गएर सेवा गर्न कोही तयार छैनन् भन्ने कुराको महसुस भयो।सबै स्वास्थ्यकर्मी काठमाडौंलगायत ठूला सहरमामात्रै सेवा गर्न चाहन्छन्।तर नेपालका सबै भूभागमा गएर स्वास्थ्य सेवा दिन नसक्ने हो भने सरकारले लिएको नीति सफल हुनसक्दैन ।’’ 

 ठूला सहरका अस्पतालमा दरबन्दीभन्दा बढी चिकित्सक बसेको भन्दै मन्त्री खापुङले त्यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो। राज्यको स्रोत साधान अनुसार सम्मान ढङ्गले समतामूलक सेवा पु¥याउन मन्त्रालय तहबाट छलफल गर्न आवश्यक भएको उहाँको भनाइ छ।सरकारले राष्ट्रिय नर्सिङ अनुपातमा बिरामीको सङ्ख्या निधारर्ण गरे पनि त्यो कार्यान्वयनमा आउन नसकेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाको भनाइ छ।

१० वर्षे रणनीतिले नर्सिङ अनुपातमा बिरामीको सङ्ख्या निर्धारण गरेर गुणस्तर सेवा दिने पहल गर्ने निरौलाले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गुणस्तरीय सेवा दिन रणनीतिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नर्सिङ तथा मिडवाइफ्री शिक्षा प्रणालीको सुदृढीकरण गर्दै गुणस्तर अभिवृद्धि गर्ने।नर्सिङ तथा मिडवाइफ्री शिक्षा र सेवाको नियमन, अनुगमन र सूपरीवेक्षण प्रणालीको विकास र विस्तार गरेर नर्सिङ तथा मिडवाइफ्री क्षेत्रको सुदृढीकरण गर्ने लक्ष्य लिएको छ  ।’’ 

२० हजार नर्स र मिडवाइफ्री आवश्यक 

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्ड अनुसार नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र अनुसार आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति २० हजार २१४ जना आवश्यक रहेको अनुमान गरिएको छ।जसमा स्टाफ नर्स १७ हजार ८१४ र मिडवाइफ दुई हजार चार सय आवश्यक देखिएको छ। 

नेपालमा नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९७ जना नेपाल नर्सिङ परिषदमा दर्ता छन्।जसमध्ये १४ हजार सरकारी सेवा र १७ हजार निजी अस्पतालमा कार्यरत छन्। 


बर्थिङ सेन्टर कति आवश्यक 

नेपालमा बर्थिङ सेन्टर सहितका आधारभूत स्वास्थ्य केन्द्र एक हजार दुई सय छन्। जसमा प्रति केन्द्रमा तीन जना स्टाफ नर्स र दुई जना मिडवाइफसहित पाँच जना जनशक्ति आवश्यक देखिएको छ।बर्थिङ सेन्टरमा तीन जनाको दरले तीन हजार छ सय नर्स आवश्यकपर्छ।त्यसैगरी, मिडवाइफ प्रति केन्द्रमा दुई जनाका दरले दुई हजार चार सय आवश्यक देखिन्छ।

बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र

नेपाल भरका बर्थिङ सेन्टर बाहेकका आधारभूत स्वास्थ्य केन्द्र चार हजार ७३८ रहेका छन्। प्रति केन्द्र तीन जना स्टाफ नर्स आवश्यक देखिन्छ।जसअनुसार, चार हजार ७३८ केन्द्रमा १४ हजार २१४ जना स्टाफ नर्स आवश्यक पर्ने अनुमान गरिएको छ ।

विशिष्टीकृत अस्पतालको शैय्या अनुसार छ हजार ६५० जना नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यकपर्छ।पाँच सय शैय्याको कान्ति बाल अस्पतालमा ९३२ जना नर्सिङ जनशक्ति आवश्यक छ। 

पाँच सय शय्याको प्रसूति तथा स्त्री रोग अस्पतालमा एक हजार ८२ जना नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यक भएको देखिएको छ।त्यस्तै, तीन सय शैय्याको मानसिक अस्पतालमा ४३७ जना नर्सिङ जनशक्ति आवश्यक भएको देखिएको छ। दुई सय शैय्याको भक्तपुर क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ भने दुई सय शैय्याको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४५ जना नर्स आवश्यक देखिएको छ। 

दुई सय शैय्याको जीपी कोइराला श्वासप्रश्वास अस्पतालमा ४४५ जना नर्स आवश्यक पर्छ र दुई सय शैय्याको  नरदेवी आयुर्वेदिक अस्पतालमा २२३ जना नर्स आवश्यक देखिएको छ।  ५० शैय्याका सात वटा प्रादेशिक सरुवा रोग अस्पतालमा ५७४ जना नर्स आवश्यक रहेको अध्ययनले देखाएको छ।तीन सय शैय्याको राष्ट्रिय सरुवा रोग अस्पतालमा ४३५ जना नर्स, सातवटा ५० शैय्याका प्रादेशिक ट्रमा सेन्टरमा सात सय जना नर्स आवश्यक देखिएको छ।पाँच सय शैय्याका राष्ट्रिय ट्रमा सेन्टरमा ९३२ जना नर्सको आवश्यकता छ।अस्पतालको शैय्या अनुसार जम्मा २६ हजार ९१० जना आवश्यक नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आवश्यक भएको अध्ययनले देखाएको छ। 




Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।