• ७ असोज २०८२, मङ्गलबार

मनसुनपछि बेलुन उडान ९ गतेबाट हुने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ६ गते । पोखरा उपत्यका, हिमाल र ताल नियाल्दै उडान भर्ने पारखीहरुको रोजाइमा पर्छ 'हट एयर बेलुन' । दसैंको शरदीय याम सुरु हुँदा यही साताभित्रै उडान सुरु गर्ने बेलुन नेपाल प्रालिको तयारी छ ।

जेनजी आन्दोलनका कारण एक साता उडानपछि सरेको बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिनुभयो । मनसुनका बेला जुन, जुलाई र अगस्टमा बन्द भएको बेलुन उडान सेप्टेम्बर १५ अर्थात् भदौ ३० बाट गर्ने तयारी भएको थियो । 

आन्दोलनकारीले बेलुन नेपालको कार्यालयमा समेत तोडफोड गरेपछि उडान मितिपछि धकेलिएको हो । बेलुन उडान यही सेप्टेम्बर २५ अर्थात् असोज ९ गतेबाट सुरु गरिने उहाँको भनाइ छ । नेपालमा पहिलो पटक व्यावसायिक बेलुन उडान सुरु गरेको बेलुन नेपालले विसं २०७५ बाट पोखरामा सेवा थालेको थियो । बेलुन नेपालले तीन वटा बेलुनबाट सेवा दिइरहेको छ । दिउँसो घाम लागेका बेला उडान कठिन हुने भएकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा उडान गर्ने गरिएको छ । 

फेवाताल सिरान पामेबाट उडान गरी करिब चार किमी बेलुनमा यात्रु रमाउन पाउँछन् । बेलुनबाट करिब ९ हजार फिट उचाइबाट हिमाल, ताल र पोखरा उपत्यका नियाल्ने मौका बेलुनका यात्रुले पाउँछन्। पहिले विदेशी यात्रुको रोजाइमा पर्ने गरेको बेलुन उडानमा पछिल्लो समय नेपाली पनि थपिएका छन् । 

गत वर्ष बेलुन नेपालले नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल आयोजना गरेको थियो । पोखरा महानगरले यसपालिको नीति तथा कार्यक्रम र बजेटमा यसलाई पर्यटन राजधानीको गतिविधिका रुपमा समेटेको छ । 

पोखरामा हट एयर बेलुन उडानमा नेपालीले ११ हजार, सार्क र चीनका नागरिकले एक सय २० डलर तिर्नुपर्छ । अरु देशका यात्रुसँग भने कम्पनीले एक सय ५० डलर लिने गरेको छ । यो आधा घन्टादेखि ४० मिनेटको प्याकेजमा उडान, पिकअप, ड्रप, फोटो र भिडियोको समेत सुविधा छ ।

यसपालि पनि विदेशीको बुकिङ सन्तोषजनक रहेको जनाउँदै बाँडे विस्तारै परिस्थिति सुध्रिनेमा आशावादी हुनुहुन्छ । “यात्रुले बुकिङ रद्द गर्ने परिस्थिति अहिलेसम्म हामीले व्यहोर्नुपरेको छैन,” उहाँ भन्नुहुन्छ, “विस्तारै पर्यटन लयमा आउँला र पर्यटन राजधानी पुरानै गतिमा पुग्ला भन्ने आशा छ ।”