प्रदीप पन्त
बागलुङ, असोज ६ गते । नवरात्रि सुरु भएसँगै बागलुङका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । बागलुङ सदरमुकाम नजिकै रहेको कालिका भगवती मन्दिर, भैरवस्थान, जैमिनीको माईथान, बिहुँको रामकोट लगाएका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थिति छ ।
नेपालको प्रसिद्ध धार्मिक रुपमा महत्व राख्ने कालिका भगवती मन्दिरमा नवरात्रि सुरु भएसँगै विशेष पूजा हुने गरेको छ । विजयादशमीको पहिलो दिन घटस्थापनाको अवसरमा कालिका भगवती मन्दिरमा पूजा गर्ने भक्तजन बढेका छन् । आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ पूजाअर्चना गर्न देशका विभिन्न स्थानबाट कालिका मन्दिरमा आएका छन् ।
पूजा गर्न बिहान पाँच बजेदेखि नै भक्तजनहरु लाइनमा बसेका छन् । कालिका भगवती मन्दिरको महिमा थाहा पाएपछि पूजा गर्न चितवनबाट आएको सुरेशकुमार सिक्देलले बताउनुभयो । “मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेर आएका छौ,” सिक्देलले भन्नुभयो,“बागलुङको कालिका मन्दिरमा पूजा गर्नुको महत्व पनि विशेष छ ।” नवदुर्गा सुरु भएसँगै विजयादशमीको अघिल्लो दिन नवमीसम्म पूजा गर्ने भक्तजनहरु आउने गर्दछन् । बागलुङ, पर्वत, म्याग्दी पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवनलगायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आएका छन् ।
मन्दिरमा प्रत्येक मङ्गलवार र शनिवार लगायत ससाना चाडपर्वमा उल्लेखनीय मात्रामा दर्शनार्थी आउने गरेका छन् । भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि समितिले प्रहरी तथा स्वयंसेवक परिचालन गरेको कालिका भगवती व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले बताउनुभयो । कालिका मन्दिरमा पनि घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरेर जमरा राख्ने गरिन्छ ।