• ७ असोज २०८२, मङ्गलबार

आन्दोलनमा ज्यान गुमाएका कमलकी पत्नीको रोदन ‘लिएर गए पु-याउन आएनन्’

blog

जेनजी आन्दोलनमा ज्यान गुमाउनुभएका हिलिहाङ–२ निवासी कमल भण्डारीकी पत्नी र पाँच वर्षीय छोरा ।तस्बिर: राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज ६ गते । पाँचथरको हिलिहाङ–२, सिंहापुरका ३० वर्षीय कमल भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनमा सहभागी हुन जाँदा गोली लागेर ज्यान गुमाउनुभयो । भण्डारीको निधनपछि अहिले उहाँको परिवारका सदस्यसँगै आफन्त र छिमेकी शोकमा छन् । कतार र साउदी अरब गरी आठ वर्ष विदेशमा बसेर घर फर्कनुभएका उहाँ पछिल्लो समय झापाको बिर्तामोड–१० मा बसाइँ सर्न घर बनाउँदै हुनुहुन्थ्यो ।

भण्डारी हिलिहाङ–२ निवासी गणेश भण्डारीका माइला छोरा हुनुहुन्थ्यो । हाल कमलको परिवारमा वृद्व बाआमासँगै श्रीमती, पाँच वर्षका छोरा, दाजु, भाइ र बहिनी हुनुहुन्छ । श्रीमती सीता पौडेलको गर्भमा तीन महिनाको शिशु हुर्कदै छ ।

श्रीमती सीताले भन्नुभयो, “२४ गते बिहान १० बजेसम्म घर बनाउन खट्नुभयो । खाना खानासाथ छिमेकबाट साथीभाइ आन्दोलनमा जाऔँ भन्दै हुल बाँधेर आए, उनीहरूको कुरा काट्न सक्नुभएन । मैले नजानुस् भनेर रोक्न खोजेँ, एकछिन हेरेर फर्किन्छु भन्दै बाटो लाग्नुभयो । साँझसम्म पनि घर नफर्केपछि पटक पटक फोन गरेँ तर फोन उठेन । २५ गते बिहान बी एन्ड सी अस्पतालका सुरक्षागार्डले फोन उठाएर तपाईंको मान्छे अस्पतालमा हुनुहुन्छ लिन आउनुहोस्भन्दा छाँगाबाट खसे जस्तो भयो । अस्पताल पुग्दा उहाँलाई बेडमा नभएर शवगृहमा राखिएको रहेछ । त्यसपछि म बेहोस भएछु ।” 

लामो समय खाडीमा दुःख गरेर केही रकम जोहो गर्नुभएको थियो । त्यही पैसाले किनेको घडेरीमा घर बनाउ“दै थियौँ । म विदेश बसुन्जेल तिमीले दुःख पायौँ । अब सँगै बस्नु पर्छ । बुवाआमालाई पनि बसाइ ल्याउनु पर्छ । यति गरेपछि पैसा बाँकी भए सानोतिनो व्यवसाय गरौँला भन्नुहुन्थ्यो । आखिर यो हालतमा पु¥याइदिए ।” सीताले गहभरि आँसु पार्दै भन्नुभयो । भण्डारीको शव भदौ २८ गते परिवारका सदस्यले बुझेर पाँचथर ल्याई लिम्बुनीघाटमा अन्त्येष्टि गरिएको थियो । हाल उहाँका काका शान्तिकुमार, आमा खगमाया र श्रीमती सीता उहाँको काजकिरियामा बस्नुभएको छ ।

अन्य सदस्यसँगै सिगो गाउँ शोकमा छ । कमलको टाउकोमा गोली लागेको थियो । यसरी गोली लागेर ढलेपछि साथै लिएर गएका साथीभाइ कसैले आफूलाई खबर नगरेको सीता बताउनुहुन्छ ।

भण्डारी भन्नुहुन्छ, “साँझसम्म तपार्इंहरू आइपुग्नुभएको अथवा कोही आफन्तको पहिचान भएको भए अपरेसन गरेर बचाउन सकिने अवस्था थियो । आफन्तको पहिचान नभएर उहाँको उपचार गर्न सकिएन भन्ने अस्पतालको जवाफ सुन्दा साह्रै नै दुःख लाग्यो । साथीहरू स्वार्थी रहेछन् लिएर गए , पु=याउन आएनन् ।” 

 सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १५ लाख रुपियाँ दिने भनेर घोषणा गरेको छ तर यो कुरा भण्डारीका अभिभावक र आफन्तलाई चित्त बुझेको छैन । पिता गणेश भण्डारी भन्नुहुन्छ, “मान्छेको ज्यान पैसासँग तुलना हुन सक्दैन । नेताहरूले भ्रष्टाचार गरेकै कारण विरोधमा उत्रेको छोराको ज्यान गयो । छोरो मारिए पनि  बुहारी र नातिका लागि राम्रो व्यवस्था होस् । देश सुध्रियोस्, नेता सुध्रिऊन, अब कहिल्यै कसैले आन्दोलनमा ज्यान गुमाउन नपरोस् ।”