• ७ असोज २०८२, मङ्गलबार

आधाभन्दा बढी बालबालिका बिचमै पढाइ छाड्छन्

blog

दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थी ।

तनहुँ समाचारदाता

तनहुँ, असोज ६ गते  । तनहुँमा आधाभन्दा बढी विद्यार्थीले माध्यमिक तहसम्म पुग्नै नपाई पढाइ छाड्ने तथ्य सार्वजनिक भएको छ । यसले बालअधिकारकै मूल आधार शिक्षा अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये करिब ५८ प्रतिशत विद्यार्थीले कक्षा १२ सम्म आइपुग्दा पढाइ छाडिसकेका हुन्छन् । तथ्याङ्क अनुसार जिल्लामा माध्यमिक तहसम्म निरन्तरता दिने विद्यार्थीको सङ्ख्या जम्मा ४१.९ प्रतिशत मात्रै छ । छात्र र छात्रा दुवैको पढाइ छोड्ने दर समान रूपमै उच्च देखिएको छ । छात्रमा ५७ प्रतिशत र छात्रामा ५७.९ प्रतिशतले विद्यालय बिचमै छाड्ने गरेका छन् ।

श्रेणीगत विवरणले अझ गम्भीर अवस्था देखाउँछ । कक्षा १–५ मा ९४ प्रतिशत विद्यार्थी विद्यालयमा आउने गरे पनि कक्षा ६–८ मा घटेर ९३.३ प्रतिशत मात्र पुग्ने गरेका छन् । यसपछि कक्षा ९–१० मा ७१.६ प्रतिशत विद्यार्थी मात्रै बाँकी रहन्छन् तर कक्षा ११–१२ मा पुगेपछि विद्यार्थीको पढाइमा टिक्ने दर झनै खस्किँदै ४१.९ प्रतिशतमा झर्छ ।

स्वदेशमा रोजगारीको अवसर कम हुनु, अभिभावकले आर्थिक भार धान्न नसक्नु र गुणस्तरीय शिक्षाको पहुँच नहुनु प्रमुख कारण रहेको एकाइ प्रमुख श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार किशोरावस्थामा आर्थिक र सामाजिक दबाबले विद्यार्थीको मनोबल कमजोर पार्दै विद्यालय छोड्ने प्रवृत्ति बढाएको छ । 

अध्ययन वातावरण र मार्गदर्शनको अभावले पनि उनीहरूलाई पढाइमै टिकाइराख्न कठिन बनाएको उहाँको भनाइ छ । अभिभावकको भूमिका पनि यसमा महìवपूर्ण देखिन्छ । उहाँका अनुसार जिल्लामा माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीको सङ्््ख्या ७० हजार हाराहारीमा छ । 

 व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले धेरै अभिभावक आफ्ना छोराछोरीलाई आवश्यक समय र सहयोग दिन नसक्दा विद्यार्थीको पढाइ निरन्तरता कमजोर भएको बताउनुहुन्छ । उहाँका अनुसार विद्यालय–अभिभावक साझेदारी बलियो भएमा विद्यालयमा समय टिकाइ राख्न सकिने छ । आचार्यले भन्नुभयो, “गुणस्तरीय शिक्षक परिचालन, अतिरिक्त अध्ययन कक्षा, नैतिक मार्गदर्शन र छात्रवृत्ति कार्यव्रmम विस्तार अनिवार्य छ ।” 

राष्ट्रिय बालदिवसकै अवसरमा सार्वजनिक भएका यी तथ्याङ्कले मुलुकमा बालबालिकाको भविष्य सुरक्षित बनाउन अझै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखाउँछ । शिक्षा क्षेत्र सुधार नारा मात्रै होइन, व्यावहारिक कार्यान्वयनले मात्र विद्यार्थीलाई विद्यालयमै टिकाउन सकिने  आचार्य बताउनुहुन्छ ।