रामकृष्ण बोहरा
बागलुङ, असोज ६ गते । बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका वस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ । नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको हितविपरित हुने गतिविधिलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
बैठकले नागरिक सचेतना अभियान चलाउने निर्णय गरेको छ । यो अभियानले नागरिक स्वयम् सचेत बनेर बजारमा हुने अनियमितता रोक्ने उपप्रमुख खड्काको भनाइ छ ।
बैठकले चाडपर्वभर र अन्य समयमा पनि नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ । चाडपर्वमा ग्राहक तथा उपभोक्तालाई महँगो मूल्य लिने, कमसल सामग्री उपलब्ध गराउने, ग्राहकपिच्छे फरक फरक मूल्य लिनेजस्ता काम हुने गरेको गुनासो आउन थालेपछि यो निर्णयमा पुग्नुपरेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
कतिपय दैनिक उपभोग्य वस्तुहरु खरिद गर्दा पाउनुपर्ने छुट समेत नागरिकले नपाएको गुनासो बढेपछि त्यसबारे जानकारी दिने र छुट नदिने व्यवसायीलाई सचेत गराईने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त कार्यका लागि बागलुङ उद्योग वाणिज्य संघलाई आग्रह गर्ने र सोअनुसार आम व्यवसायीलाई संघले सूचना प्रवाह गर्ने बैठकले निर्णय गरेको छ ।
समितिले म्याद गुज्रेका सामानहरु बिक्री गरेको भेटिएमा कारबाही गर्ने, अखाद्य वस्तु उपयोग नगर्न सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हरेक वर्ष चाडपर्वमा मात्रै बजारमा अतियमितता प्रसस्त देखिने गरेको छ । बजार अनुगमन गर्दा वर्षौदेखि म्याद गुज्रेका सामग्री बिक्री गरेको भेटिने, अखाद्य सामान बेच्ने गरेको पाएपछि नगरपालिकाले सचेतना अपनाएको नगर उपप्रमुख खड्काले बताउनुभयो ।
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला स्तरीय अनुगमन समितिले पनि बजारको बेथितीबारे चासो राख्दै नियमित अनुगमनलाई निरन्तरता दिने भएको छ ।
नगर उपप्रमुख खड्काको अध्यक्षतामा बसेको बैठकमा उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल, सार्वजनिक सेवा प्रवाह समितिका संयोजक कुमार बिक्रम क्षेत्री, जिल्ला प्रशासन कार्यालयका नासु समिर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रेम अर्याल, उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पत्रकार तारानाथ आचार्य सहितको बैठकले बजार अनुगमन र सचेतनासम्बन्धी प्रचार सामग्री बनाएर सार्वजनिक गरेको छ ।