• ६ वैशाख २०८१, बिहिबार

इन्धनको मूल्य वृद्धिले विकास निर्माण प्रभावित

blog

काठमाडौँ, असार १४ गते । पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्य वृद्धिले विकास निर्माणको काम प्रभावित भएको छ । डिजेलको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा मूल्य वृद्धि भएकाले निर्माण व्यवसायीले काम रोकेका छन् । आर्थिक वर्षको अन्तिम असार महिनामा विकास निर्माणको काम दुरत गतिमा हुनुपर्ने भए पनि यसपालि भने सुस्त गतिमा रहेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले डिजेलमा भएको मूल्य वृद्धिको कारणले विकास निर्माणको काम प्रभावित भएको जानकारी दिनुभयो । निर्माण व्यवसायी सार्वजनिक खरिद नियमावलीमा सुधार गर्नुपर्ने माग पनि राख्दै आएका छन् । 

ठूला परियोजनाले माग घटाए

विकास निर्माणका परियोजनाले नेपाल आयल निगमको डिपोबाट सिधै डिजेल लाने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव विकास निर्माणका आयोजनामा समेत परेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै निर्माण सामग्री (सिमेन्ट, रडलगायत)को मूल्य बढेकाले विकास निर्माणको कामले गति लिन नसकेको व्यवसायीको भनाइ छ ।  

ठूला निर्माण कम्पनीले निगमबाटै पेट्रोलियम पदार्थ लैजाने गरेका छन् । निगमको बारास्थित अमलेखगञ्ज डिपोबाट शिवालय जेभी, हजमा एन्डो कर्प र नागढुुङ्गा सुरुङमार्ग आयोजनाले वैशाख महिनामा चार लाख २० हजार लिटर डिजेल लगेकामा जेठ महिनामा तीन लाख ८० हजार लिटर मात्रै लगेका थिए । असार महिनाको १३ गतेसम्म दुई लाख लिटर डिजेल लगेको अमलेखगञ्ज कार्यालयले जानकारी दिएको छ । निर्माणको काम ढिलाइ हुँदा डिजेल खपत कम भएको कार्यालयले जानकारी दिएको छ ।

यस्तै निगमको प्रादेशिक कार्यालय भैरहवाबाट तीनवटा निर्माण कम्पनी (ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड, वुडहिल लामा जोइन्ट भेन्चर र दिनेशचन्द्र कालिका जोइन्ट भेन्चर)ले वैशाख महिनामा एक लाख ६० लिटर डिजेल लगेकामा जेठ महिनामा ८० हजार र असार महिना (१३ गतेसम्म)मा २० हजार लिटर लगेका छन् । निगम प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नवविनोद पोखरेलले डिजेलको मूल्य बढेका कारण निर्माण कम्पनीले कम परिणाममा तेल लगेको जानकारी जानकारी दिनुभयो । 

निगमको धनगढी कार्यालयबाट सहजपुर बोक्टान दिपायल सडक सुधार आयोजनाले वैशाख महिनामा एक लाख लिटर, जेठ महिनामा ६० हजार लिटर र असार महिनाको १३ गतेसम्ममा ६० हजार लिटर मात्र डिजेल लगेको छ । यस्तै निगमको नेपालगञ्ज कार्यालयबाट घोराही र रोल्पा सिमेन्ट उद्योगले डिजेल लैजाने गरेका छन् । यी उद्योगले ५० प्रतिशत डिजेल कम लगेको सो कार्यालयले जानकारी दिएको छ ।  

निगमले असार ५ गते पेट्रोलमा २१ रुपियाँ र डिजेलमा २७ रुपियाँ मूल्य बढाएको थियो । मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सरकारले कर कटौती गर्नेगरी गत शनिबार पेट्रोलमा २१ रुपियाँ र डिजेलमा २९ रुपियाँ मूल्य घटाएको छ । अहिले बजारमा डिजेलको मूल्य प्रतिलिटर १६३ रुपियाँ रहेको छ । 

सवारीसाधन, उद्योगधन्दा र विकास निर्माणमा डिजेलको खपत धेरै हुने गर्छ । पेट्रोल पम्पबाट हुने खरिद बिक्रीमा भने वृद्धि भइरहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । सवारीसाधन र सानो परिणाममा हुने पेट्रोलियम पदार्थको माग पेट्रोल पम्पबाट आपूर्ति हुने गरेको छ ।

निर्माण होलिडे

नेपाल निर्माण व्यवसायी महासङ्घले अत्यावश्यकबाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (होलिडे) भएको जानकारी दिएको छ । महासङ्घका अध्यक्ष रवि सिंहले डिजेलमा भएको मूल्य वृद्धिका कारण विकास निर्माणको काम प्रभावित भएको जानकारी दिनुभयो । इन्धनको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धि र सार्वजनिक खरिद ऐनमा भएको त्रुटि सच्याउनुपर्ने माग गरेर विकास निर्माणको काम बन्द गरिएको सिंहले जानकारी दिनुभयो । अहिले दशैभरि विकास निर्माणको काम नभएको उहाँले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी महासङ्घले म्याद थपको जटिलता, भुक्तानी नपाउने समस्याबाट पीडित रहेका बेला सार्वजनिक निकायले बैङ्क ग्यारेन्टी दाबी गरी ठेक्का तोडी, कालोसूचीमा राख्न सिफारिस गर्नेजस्ता कार्य गरी व्यवसायीलाई अप्ठ्यारो बनाउने काम रोक्नुपर्ने माग राखेको छ । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले सो मूल्य वृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।