• २७ भदौ २०८२, शुक्रबार

तुलसीपुरका ६० जना कैदीबन्दी कारागार फर्किए

blog

सन्तोष दहित

दाङ, भदौं २७ गते । जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका कैदीबन्दीहरु पुनः कारागारमा फर्किन थालेका छन् ।

२५३ मध्ये अहिलेसम्म ६० कैदीबन्दीहरु कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर कारागारबाट तीन पटकमा २५३ जना कैदीबन्दीहरु भागेका थिए । पहिलो दिन भदौ २४ गते १२४ जना कैदीबन्दीहरु कारागार तोडफोड गरेर भागेका थिए । 

त्यस्तै भदौ २५ गते पहिलो चरणमा ९७ जना र दोस्रो चरणमा ३२ जना सहित १२९ जना कैदीहरु भागेकाथिए । तर अहिले उनिहरु आफै कारागारमा फर्किन थालेको जेलर सिजवालले बताउनुभयो ।

"केही कैदीबन्दीहरु आफै मेरो सम्पर्कमा हुनुहुन्छ भने केही सुरक्षाकर्मीको सम्पर्कमा आइरहनुभएको छ, उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालयले कैदीहरुलाई फर्किन सूचना जारी गरेपछि आफै फर्किन थाल्नुभएको छ, भने केही सम्पर्कमा आइरहनुभएको छ ।"  "धेरैजसो कैदीबन्दीहरु आफन्तकोमा बस्नुभएको रहेछ, उहाँले भन्नुभयो, "उहाँहरुको आफन्तले हामीलाई नै सम्पर्क गरेर कैदीहरु फर्किने बताउनुभएको थियो ।"

बेलुकीसम्म बाँकी कैदीहरु फर्किने आफुले विश्वास व्यक्त गरेको उहाँले बताउनुभयो । "यद्यपि उहाँहरु कारागारमा फर्किनुभएन भने हामी आफैँ खोजेर पनि ल्याउने छौं", उहाँले भन्नुभयो, "प्रशासनले निकालेको सूचना भित्रमा फर्किनुभएन भने प्रहरी प्रशासनले आफै खोजेर भएपनि ल्याउनेछ ।"