• २७ भदौ २०८२, शुक्रबार

धनकुटामा निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सामान्य बन्दै

blog

यातायता सञ्चालन भएसँगै धनकुटाको बसपार्कमा आवतजावत गर्दै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा), भदौ २७ गते । देशैभर जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेसँगै त्यसको प्रत्यक्ष असर धनकुटामा पनि परेको छ । तर शुक्रबारदेखि भने यहाँको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएसँगै चहलपहल समेत बढ्दै गएको छ ।

जिल्ला प्रशानन कार्यालय धनकुटाले दिउँसो निषेधाज्ञा र राती कफ्र्यू जारी गरेको छ । प्रशासनले आज बेलुकी ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म कर्फ्यू जारी गरेको छ । तर दिउँसो निषेधाज्ञा खुकुलो भएपछि मान्छेको चहलपहल बढेको छ । 

त्यसो त छोटा तथा लामा दुरीका केही यातायातका साधन समेत सञ्चालन हुन थालेका छन् । दैनिक जनजीवनलाई मध्यनजर गर्दै निषेधाज्ञा केहि खुकुलो परिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लैजाने र सहजीकरण गर्दै जानुपर्छ ।"

प्रशाननले माईकिङ मार्फत सूचना गर्दै भेला, जुलुस प्रदर्शन, छलफल गर्न नपाउने जनाएको छ । नेपाली सेनाले रातिको समयमा जारी गरेको कर्फ्यू भने कडा पारिएको छ । प्रशानले जारी गरेको कफ्र्यु उत्तरमा कागते, पूर्वमा खनिया बास, पश्चिममा औद्योगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा तोकिएको छ। नेपाली सेनाले माइकिङ गरि सूचना गरेको र कर्फ्यू समया कडा निगरानी गरेको छ । 

तर दिउँसो भने बजार पसल समेत खुल्न थालेका छन् । जसले गर्दा स्थानीयको दैनिक सहजता हुँदै गएको छ । गाउँदेखि आवस्यक सामान किनमेल गर्न बजार आएसँगै चहलपहल बढेको छ । धनकुटाबाट तेह्रथुम, भोजपुर, संखुवासभा र धरानसम्म लगायतमा साधन केही मात्रमा सञ्चालन भएको पाइएको छ।