• २७ भदौ २०८२, शुक्रबार

खोजौँ विधिसम्मत निकास

blog

नेपालमा विधिको शासनसहितको शान्ति होस् भन्ने सबैको चाहना छ । त्यसका लागि भ्रष्टाचारमुक्त कानुनी शासन, स्वतन्त्रता र न्यायसहितको समावेशी व्यवस्था आवश्यक छ । नवयुवा जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोलन देश बिगार्नका लागि होइन, बनाउनका लागि हो । प्राप्त स्वतन्त्रता नखोसिने गरी भ्रष्टाचारमुक्त देश बनाउने उनीहरूको सपना र चाहनालाई अब सबै मिलेर मूर्त रूप दिनु पर्छ । त्यसका लागि सबै पक्ष गलत मनसायबाट मुक्त भई सकारात्मक सोचका साथ मुलुकलाई छिटोभन्दा छिटो निकास दिन एकजुट हुनु पर्छ । सोमबार र मङ्गलबारको दुईदिने आन्दोलन एकाएक नियन्त्रणबाहिर गयो । हिंसा, आगजनी, तोडफोड र लुटपाटले मुलुक अस्तव्यस्त भयो । अकल्पनीय जनधनको क्षति भयो । मुलुकवासी सबै स्तब्ध भए । मुलुक अब लयमा फर्किंदैन कि भन्ने चिन्ता सबैमा भयो । जेनजी पुस्ताले त सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने र भ्रष्टाचार रोकिनुपर्ने मागसहित शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् तर आन्दोलनमा घुसपैठ भयो । गृह प्रशासन पनि परिस्थितिको आकलन गर्न चुक्यो । सोमबार एकै दिन होनहार १९ जना युवकको ज्यान जानुका साथै सयौँ घाइते भए । यो घटनाले चरम जनआक्रोश र चिन्ता बढाउनु स्वाभाविक थियो । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा त्यसै दिन राजीनामा दिनुभयो । परिस्थिति साम्य भएन । मङ्गलबार जनआक्रोशलाई कसैले रोक्न सकेन । मुलुक नियन्त्रणबाहिर गयो । हिंसा, आगजनी, तोडफोड र लुटपाटले अकल्पनीय क्षति भयो । 

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रपति कार्यालय, राजनीतिक दलहरूका कार्यालय, नेताहरूका निजी निवासलगायतमा आगजनी भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति नियन्त्रणबाहिर गएपछि राजीनामा दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको राजीनामा तत्कालै स्वीकृत गर्नुभयो । राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई संवादका लागि आह्वान गर्नुभयो । सोही दिनको राति १० बजेपछि सुरक्षाको सम्पूर्ण कमान्ड नेपाली सेनाले लियो । बुधबार बिहानैदेखि परिस्थिति भिन्न देखियो । जेनजी पुस्ताको आन्दोलन रोकियो । एकातिर जेनजी पुस्ताका अगुवाहरूले प्रधानसेनापति सिग्देलसँग संवाद गरे, अर्कातिर युवकहरू हातमा कुचो र झाडु लिएर ध्वस्त भएका भौतिक संरचनाका फोहोर हटाउन खटिए । 

प्रधानसेनापति सिग्देल र आन्दोलनका अगुवाबिच संवादको क्रम जारी छ । मुलुकलाई विधिसम्मत ढङ्गले छिटोभन्दा छिटो निकास दिनु पर्छ भन्ने विषयमा विमति छैन । अब कसरी मुलुकलाई सर्वस्वीकार्य निकास दिने भन्नेबारे सर्वपक्षीय वार्ता र संवाद गर्नु पर्छ । वर्तमान संविधान सात दशकभन्दा लामो समयदेखिको जनआन्दोलनका उपलब्धि हो । यो संविधानभित्रैबाट अहिलेको निकास खोज्न सकिन्छ । तत्कालै नयाँ संविधान बनाउने वा यो संविधानलाई संशोधन गर्ने अवस्था अहिले छैन । यस्तो अवस्थामा यही संविधानको परिधिभित्र रहेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै परिष्कृत गर्ने ढङ्गले निकास खोज्नु सबैका लागि हितकर हुन्छ । जेनजी पुस्ताको समृद्ध देश बनाउने सपना, सकारात्मक भावना र चाहनालाई सबैले आत्मसात् गर्नु पर्छ । अहिले यो पुस्ताको नाममा गर्न सक्ने अवाञ्छित गतिविधिप्रति सबै सचेत हुन आवश्यक छ । धैर्य र संयमता नगुमाई जेनजी पुस्तालाई विधिसम्मत ढङ्गले राजनीतिको मूलधारमा समाहित गर्नु पर्छ । युवापुस्ताको भावना र चाहनालाई समयमै आत्मसात् गर्न नसक्दा मुलुकमा यस्तो अकल्पनीय सङ्कटपूर्ण अवस्था सिर्जना भएको हो । नेपालमा क्रियाशील अधिकांश राजनीतिक दलमा पुराना पुस्ताको बाहुल्य रहेको छ । पुराना पुस्ताका नेताहरूले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी अभिभावकीय भूमिकामा रहनु पर्छ । बुढापुस्ताबाट मुलुक बनाउन सकिँदैन । नयाँ पुस्ताले नै मुलुक बनाउन सक्छन् । यो पुस्तालाई सक्षम, सिर्जनशील र व्यावहारिक बनाउने जिम्मेवारी बुढापुस्ताको हो ।

नेपालको राजनीतिमा अहिलेसम्मकै ठुलो समस्या भनेको राजनीतिको पुस्तान्तरण हुन नसक्नु हो । अधिकांश पार्टीमा शीर्ष नेतृत्व पुरानो पुस्ताको छ । यो पुस्ताले नेतृत्व हातमा लिएपछि आर्यघाटमा नजाँदासम्म नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने सोचसम्म बनाउन सकेको छैन । हरेक पार्टीमा युवापुस्तालाई दासत्व स्वीकार गर्न बाध्य पारिएको छ । पुरानो पुस्ताले अब खुरुक्क युवापुस्तामा नेतृत्व हस्तान्तरण गरी पार्टीलाई गतिशील बनाउन ढिला गर्नु हुँदैन । शीर्ष नेताहरू न पार्टीको नेतृत्व न त सरकारको नेतृत्व छाड्न तयार भए । परिणामस्वरूप युवा विद्रोहले यो रूप लिएको हो । पुरानो पुस्ता सम्मानित हुने र नयाँ पुस्ताले मुलुक र पार्टी चलाउने अवस्था आउने हो भने अहिलेसम्म मुलुकमा देखिएका सबै खाले विकृति, विसङ्गति र निरङ्कुश बन्ने सोच अन्त्य हुने छ । युवापुस्ताको हातमा पार्टी र सरकारको बागडोर आएपछि निश्चय नै यो मुलुक सुन्दर, शान्त र समृद्ध बन्ने छ ।