• २७ भदौ २०८२, शुक्रबार

कार्यालय जलेपछि नागरिकका काम प्रभावित

blog

धनगढी समाचारदाता

धनगढी, भदौ २७ गते । कैलालीका धेरै जसो सरकारी कार्यालय खरानी बनेपछि ती कार्यालयबाट नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भएको छ । सेवाग्राहीको दैनिक भिडभाड रहने महत्वपूर्ण कार्यालयहरू जेनजीको आन्दोलनका क्रममा जलाइएपछि नागरिकको काम प्रभावित भएको हो । कार्यालयको भौतिक संरचनादेखि लिएर कम्प्युटर, फाइल, कागजातलगायतका सामग्री जलेर खरानी बनेपछि तीन दिनदेखि अधिकांश सरकारी कार्यालयको सेवा ठप्प छन् । भौतिक संंरचना र आवश्यक सामग्री जलेपछि कर्मचारी पनि अलमलमा छन् ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, कैलाली भन्सार कार्यालय, डिभिजन वन कार्यालय, कारागार कार्यालयलगायतका सरकारी कार्यालयलाई जलाएका थिए । यसै गरी प्रदेश संरचना कार्यालय र मन्त्रालय पनि जलाएका थिए । आन्दोलनकारीले गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायतका पालिकामा पनि आगजनी गरेका छन् ।

आन्दोलनकारीले आगजनी गरेपछि कैलाली जिल्ला अदालत, मालपोत कार्यालय र यातायात कार्यालयबाट दिइने सेवा अनिश्चित समयका लागि स्थगित गरिएको छ । कैलाली जिल्ला अदालतले मुद्दाका मिसिल, कम्प्युटर, फर्निचर, सर्भर, इजलाससमेत जलेर नष्ट भएको जानकारी दिएको छ । हस्तलिखित सूचना निकाल्दै सो कार्यालयले मुद्दाको सुनुवाइ, दर्ता तथा तारिखसमेतका कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

सरकारी कार्यालयहरू पूरै खरानी भएका कारण नागरिकलाई सेवा प्रदान गर्ने कुराको कुनै निश्चित नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भुइँमा बसेर भए पनि सेवा दिन सक्ने अवस्था छैन किनभने हाम्रो कार्यालयको त केही पनि बचेन ।” सरकारी कार्यालयहरूमा के कति क्षति भयो भन्ने यथेष्ट विवरण अझैसम्म आइपुगेको छैन । जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यालयका प्रमुखलाई सम्पर्क गरेर आआफ्ना कार्यालयको क्षतिको विवरण पठाउन आग्रह गरेको छ । आन्दोलनकारीले अत्यधिक सरकारी सवारीसाधन पनि जलाएका छन् । सरकारी सम्पत्तिमाथि गरिएको आगजनीबाट भएको क्षतिको अहिलेसम्म कुनै लेखाजोखा नरहेको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँले सबै कार्यालयबाट क्षतिको विवरण माग गरेको जानकारी दिनुभयो ।

आन्दोलन जेनजीको भनिए पनि आगजनी गर्ने कार्यमा बाह्य व्यक्ति संलग्न रहेको आन्दोलनमा सहभागीले बताएका छन् । भन्सार, आन्तरिक राजस्व कार्यालयलगायतका विशेष विशेष कार्यालयमा आगो लगाउने काम नेपालमा व्यापार गरिरहेका भारतीय मूलका व्यापारीले गरेको उनीहरूको जिकिर छ ।