• २७ भदौ २०८२, शुक्रबार

'केयू'को पठनपाठन छठपछि मात्रै हुने

blog

केदार तिमल्सिना 

बनेपा, भदौ २७ गते । काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्ना सम्पूर्ण कार्यक्रम र दैनिक पठनपाठन रोकेको छ । विश्वविद्यालयले बिहिबार विज्ञप्ती जारी गर्दै पछिल्लो विकसित राजनीतिक घटनाक्रमहरुका कारण विश्वविद्यालयको पठनपाठन र शैक्षिक कार्यक्रमहरु छठपछि मात्रै सुरु गर्ने जनाएको हो । 

विश्वविद्यालयका प्रवक्ता प्राडा. उद्धव प्याकुरेलले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा असजिलो पर्ने देखिएकाले काठमाडौं विश्वविद्यालयले पठनपाठनका सम्पूर्ण कार्यक्रम छठपर्व पछिमात्र सूचारु गरिने बताउनुभयो । 

“अहिलेपनि निषेधाज्ञा र कफ्र्यू जारी रहेकोले अन्यौलता नै छ, विद्यार्थी, शिक्षक तथा कर्मचारी आउने अवस्था छैन, सहज भएको र विद्यार्थीले मानेको खण्डमा दशैँ र तिहारको समयमा कार्यक्रम र पठनपाठन सुरु गर्न सकिन्छ कि यस विषयमा हामी पछि छलफल गर्नेछौँ,” प्याकुरेलले भन्नुभयो । उहाँले पूर्व प्रकाशित परीक्षा तथा अन्य परीक्षा सञ्चालनका लागि विश्वविद्यालको पठनपाठन सूचारु भएपछि मात्र सूचना प्रकाशन गरिने बताउनुभयो । 

“विभिन्न स्कुलबाट सञ्चालित भइरहेका परीक्षाहरुका हकमा भने सम्बन्धित स्कुलका डीन र परीक्षा नियन्त्रकले आवश्यक समन्वय गरी निर्णय लिनुहुनेछ, अहिले परीक्षाका सबै कार्यक्रमलाई पनि स्थगन गरेका छौँ, सम्भव भएसम्म दशै तिहारको बीचको समयमा सञ्चालन गर्न प्रयत्न गर्नेछौँ” विश्वविद्यालयका प्रवक्ता प्राडा.प्याकुरेलले थप्नुभयो । 

उहाँले भौतिक उपस्थितीमा पठनपाठन सुरु गर्न सम्भव नभएकोले विश्वविद्यालयको शैक्षिक क्यालेण्डर मिलाउनका लागि पठनपाठन सुरु भएपछि दैनिक कक्षा सञ्चालन हुने समय थप गरेर कोर्ष पुरा गरिने बताउनुभयो । 

विश्वविद्यालयको होस्टेलहरुमा बस्ने विद्यार्थीका लागि विश्वविद्यालयबाट काठमाडौंसम्म जानका लागि शुक्रबार र शनिवार विश्वविद्यालय परिसरबाट बसको व्यवस्था गरिएको र उपत्यकाबाहिर जाने विद्यार्थीलाई विद्यार्थी कल्याण निर्देशनालयसँग सम्पर्कमा आउन अनुरोध गरेको छ । 

विश्वविद्यालयले अन्तिम मिति राखेर सूचना प्रकाशन भएका भर्ना, छात्रवृत्ति र विज्ञापनको हकमा कार्यालय सूचारु भएपछि एक हप्ताको समयावधि राखी सूचना पुनः प्रकाशन गर्ने जनाएको छ ।