अमरराज नहर्की
तनहुँ, भदौ २७ गते । जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिँदै भन्नुभयो, “कारागारबाट भागेका कैदीबन्दीमध्ये ४५ जनालाई नियन्त्रणमा लिएका छौँ र बाँकीको खोजी जारी छ ।”
कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क राखेर सुरक्षित फिर्ताको लागि आग्रह गरेको छ । कारागारका जेलर टेकप्रसाद भट्टराई जानकारी दिनुभयो । आवश्यक सम्पर्कका लागि परिवार र आफन्तहरूले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो, हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयास गरेका छौँ।”
कार्यालयले जानकारी दिए अनुसार तीन सय सात पुरुष र २० जना पुरुष गरी ३२७ जना फरार भएका थिए । आन्दोलन चर्किँदा स्थिती नियन्त्रण बाहिर गएको र सुरक्षाकर्मीले समयमै नियन्त्रण गर्न नसक्दा कैदीबन्दी भाग्न सफल भएका थिए । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीहरूले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् ।
फरार कैदीबन्दीमध्ये केही सामान्य मुद्धामा सजाय भुक्तान गर्दै थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । प्रशासनले छिटो फिर्ता र सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय जारी राखेको छ । साथै, कारागार प्रशासन कार्यालयमा आगलागीले क्षति पुगेकोले त्यसको व्यवस्थापनको काम पनि भइरहेको कार्यालयले जनाएको छ ।