विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २७ गते। जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको छ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू समयमा केही हेरफेर गर्दै निरन्तरता दिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचना अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म निषेधाज्ञा र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू लाग्ने उल्लेख छ। त्यसैगरी साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा र ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू रहने जनाइएको छ।
निषेधाज्ञा तथा कर्फ्यूको आदेश उल्लंघन गरे गराएमा कडा कारवाही हुने जिल्ला प्रशासनको सूचनामा भनिएको छ।
‘जेनजीको मंगलबार सुरु भएको प्रदर्शनले उग्ररुप लिएरपछि सोही दिन दिउँसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यूको आदेश जारी गरेको थियो। कर्फ्यू आदेश जारी भएको चौथो दिन राजविराजसहित जिल्लाका सहरी क्षेत्र र सडक सुनसान देखिएका छन्।