अमरराज नहर्की
तनहुँ, भदौ २६ गते। तनहुँमा दुई फरक–फरक स्थानमा फेला परेका महिलाको शव फेला परेको छ। फेला परेका दुवै महिलाको शवको हालसम्म सनाखत हुन सकेको छैन।
भदौ २५ गते तनहुँको व्यास नगरपालिका–३ देउरालीस्थित सेती नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन।
मृतकको उमेर करिब ५५–६० वर्ष, उचाइ करिब ४ फिट ८ इन्च, अनुहार मङ्गोेलियन, वर्ण गहुँगोरो र कपाल फुलेको हुलिया भएको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखेको जानकारी दिएको छ।
यसअघि भदौ २३ गते व्यास नगरपालिका–१ तालघरेस्थित डिहीगाउँ–रानीगाउँ जाने पक्कीपुल मुनि बुल्दी खोलामा डुबिरहेको अवस्थामा करिब ३५ वर्षकी महिला फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ पु¥याइएको थियो। तर, उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।
अहिलेसम्म पनि दुवै महिलाको पहिचान हुन नसकेकाले प्रनाउ थापाले बताउनुभयो। उक्त हुलियासँग मेल खाने व्यक्तिलाई कोही कसैले चिनेमा तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।