चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २६ गते। ताप्लेजुङमा कर्फ्यूको समय थप भएको छ। सम्भावित हुलदङ्गा, तोडफोडजस्ता अराजक गतिविधिका कारण शान्ति सुरक्षामा खलल आउनसक्ने अवस्थालाई दृष्टिगत गरी शुक्रबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बिहीबार एक सूचना प्रकाशित गर्दै साँझ ६ बजेदेखि लागु हुनेगरी कर्फ्यू आदेश जारी गर्नुभएको छ। प्रजिअ सेढाइँले जारी गर्नुभएको सूचना अनुसार जिल्लाभर कर्फ्यू लागु हुने छ।
जिल्लाको पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यु लागु हुने सूचनामा उल्लेख छ। तोकिएको कर्फ्यू समयावधिभर कुनै पनि प्रकारको भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि गर्न नपाइने भएको छ।
कफ्र्युको अवधिमा एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कुटनीतिक नियोगका व्यक्तिले भने आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने छन्। उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने र आउजाउ गर्न सुरक्षाकर्मीबाट सहजीकरण हुने पनि सूचनामा उल्लेख गरिएको छ। बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भने जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो।