- भदौ २६ देखि २७ गतेसम्म कर्फ्यु, अत्यावश्यक सेवामा भने छुट
- सरकारी कर्मचारी र उडान यात्रुका लागि विशेष आवतजावत व्यवस्था
काठमाडौं, भदौ २५ गते । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ ।
उपत्यकामा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षात्मक व्यवस्था गरिएको र कर्फ्युलाई केही खुुकुलो बनाइएको छ।
अत्यावश्यक सेवामा छुट
निषेधाज्ञा र कर्फ्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन्।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।
सुरक्षाकर्मीहरु नागरिकको जीवन रक्षा र मानवीय उद्धारमा निरन्तर सक्रिय रहेको भन्दै सहयोग र समन्वयका लागि सबैमा अपिल गरिएको छ ।