• २५ भदौ २०८२, बुधबार

दर्जनौँ व्यापारिक संरचनामा आगजनी २० अर्बभन्दा बढीको क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २५ गते । ‘जेनजी’ आन्दोलनको दोस्रो दिन राजधानीका विभिन्न स्थानका ठुला व्यावसायिक र व्यापारिक संरचनामा तोडफोड र आगजनी भएको छ । तोडफोड र आगजनीमा होटेलदेखि चर्चित व्यावसायिक समूहका सोरुमसम्म परेका छन् । 

प्रदर्शनका क्रममा बुधबार दिनभर राजधानीको नक्सालस्थित होटेल हिल्टन जलिरह्यो । पाँचतारे यो होटल गत वर्ष साउनदेखि सञ्चालनमा आएको हो । शङ्कर गु्रपको स्वामित्वमा रहेको यो होटलमा आठ अर्ब ३५ करोड रुपियाँ लगानी भएको छ । प्रदर्शनकारीले तोडफोडपछि आगजनी सुरु गरेका थिए । आगजनीका कारण होटेलमा रहेका पर्यटकले यसको सबैभन्दा माथिल्लो तलामा पुगेर उद्धारका लागि गुहार मागिरहेको दृश्य दिनभर सामाजिक सञ्जालमा देखिएको थियो । बुधबार नै प्रदर्शनकारीले तोडफोडपछि होटेल वर्णवासमा पनि आगजनी गरेका छन् । २०८० माघदेखि सञ्चालनमा आएको यस होटेलका सञ्चालक पर्यटन व्यवसायीसमेत रहनुभएका सङ्घीय सांसद राजेन्द्र बजगाईं हुनुहुन्छ । होटेलमा करिब सवा अर्ब रुपियाँ लगानी रहेको छ । होटेलबाहेक व्यापारिक कम्प्लेक्स पनि प्रदर्शनकारीको निशानामा परे । भाटभटेनीको नक्साल, बौद्ध, भक्तपुरको राधेराधे, चितवनको भरतपुर, पोखरा, विराटनगर, बिर्तामोड र जनकपुरस्थित व्यापारिक भवनमा तोडफोड, लुटपाट र आगजनी भएको छ ।

प्रदर्शनका क्रममा व्यापारिक घराना चौधरी समूहको सिजी इलेक्ट्रोनिक्समा पनि आगलागी भएको छ । सिजी ब्रान्ड अन्तर्गतका इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने राजधानीको सतुङ्गलस्थित उक्त भवन आगलागीबाट पूर्णतः क्षतिग्रस्त भएको छ । त्यस्तै चौधरी समूह अन्तर्गतकै सिजी कर्पमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । विदेशबाट कार आयात गरेर बिक्री गर्ने सिजी कर्पको थापाथलीस्थित सोरुम आगजनीबाट पूर्ण ध्वस्त छ भने त्यहाँ रहेका नयाँ कार पनि जलेका छन् । चन्द्रागिरि केबुलकारको बेस स्टेसनमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिम्रिक एयरको भवन पनि पूर्ण रूपमा ध्वस्त बनाएका छन् । तीनकुनेस्थित सिम्रिक एयरको व्यापारिक कम्प्लेक्समा आगजनी हुँदा पूर्ण रूपमा जलेको अवस्थामा छ । 

त्यस्तै दूरसञ्चार सेवाप्रदायक एनसेलको लैचनौरस्थित भवनमा पनि प्रदर्शनकारीले बुधबार साँझ तोडफोड र आगजनी गरेका छन् । कान्तिपुर मिडियाको केन्द्रीय कार्यालय रहेको थापाथलीस्थित कम्प्लेक्स पनि आगजनीका कारण क्षतविक्षत भएको छ । उक्त कम्प्लेक्समा आधा दर्जन व्यापारिक संस्थाका कार्यालय सञ्चालनमा थिए । बुधबारको प्रदर्शनका कारण व्यापारिक संरचनामा भएको तोडफोड र आगजनीका कारण भएको क्षतिको आधिकारिक अनुमान नभए पनि यी कम्प्लेक्समा गरिएको लगानीका आधारमा २० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गर्न सकिन्छ ।