• २५ भदौ २०८२, बुधबार

बाँकेको नौबस्ता बाल सुधारगृहका पाँच बालबन्दीको मृत्यु

blog

बाँकेको नौबस्तास्थित बाल सुधार गृह र नौबस्ता कारागार ।

सिराज खान 
नेपालगन्ज, भदौ २५ गते ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मीसँग झडप हुँदा पाँच जनाको बालबन्दीको मृत्यु भएको छ ।

सुरक्षाकर्मीको हतियार खोसेर भाग्न खोज्दा भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा पाँच जना बालबन्दीको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको नौबस्ता बालसुधार गृहले जनाएको छ ।

सो क्रममा करिब ८० जना बालबन्दी सुरक्षा घेरा तोडेर भाग्न सफल भएको तथा बाल सुधारगृहसँगै रहेको नौबस्ता कारागारका कैदी बन्दीहरु पनि भागेको सो कार्यालयले जनाएको छ ।

सो घटनामा मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । उनिहरुको शवलाई भेरी अस्पताल नेपालगन्जमा राखिएको छ ।

बालबन्दीहरुले भाग्न खोज्दा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको थियो । घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको नौबस्ता बाल सुधार गृहले जनाएको छ । घाइतेहरुको उपचार भेरी अस्पतालमा भइरहेको छ ।

प्रहरीले अहिले बाल सुधारगृह र भेरी अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै फरार भएका बालबन्दी र कैदीको खोजी पनि सुरु गरिएको जनाएको छ । बुधबार नौबस्ता बाल सुधारगृहको अवस्था सामान्य रहेको सो सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो ।