• २५ भदौ २०८२, बुधबार

सप्तरी जिल्लामा दर्जनौं कार्यालयमा तोडफोड र आगजनी, कामकाज ठप्प

blog

राजविराजमा भएको तोडफोड र आगजनी । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), भदौ २५ गते । जेनजीको प्रदर्शनका कारण जिल्लाका राजविराज नगरपालिका, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका बोदेबरसाइन नगरपालिका लगायत जिल्लाका एक दर्जन गाउँपालिका नगरपालिकाको कार्यालय तोडफोड र आगजनी गरेको छ ।

जिल्लाका प्रमुख प्रशासनिक केन्द्र जिल्ला समन्वय समिति,उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत,जिल्ला वन कार्यालय,कर कार्यालय लगायत एक दर्जन सरकारी कार्यालयहरू तोडफोड तथा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले राजविराज नगरपालिका-८, मदन नगर स्थित रहेको नेकपा एमालेको पार्टी कार्यालय, राजविराज नगरपालिका-७ मा रहेको नेपाली कांग्रेसको कार्यालय, राजविराज-५ मा रहेको जनमतको पार्टी कार्यालय, जनता समाजवादी पार्टी नेपालको कार्यालय तोडफोड तथा आगजनी गरेका हुन् ।

राजविराज नगरपालिकाको परिसरमा रहेको जनताको सेवामा खटिने दमकल,एम्बुलेन्स,वारुणयन्त्र, सरसफाइमा प्रयोग हुने ट्याक्टर, टिप्पर, मलामीमा प्रयोग हुने गाडी, विपदमा काम लाग्ने जेसिबी लगायत कार्यालयमा प्रयोग हुने सबै सवारी साधन, ऐतिहासिक दस्तावेजहरु महत्त्वपूर्ण सवै नक्सा कागजातहरू जलेर नष्ट भएको छ ।

कार्यालयहरूमा भएको सम्पूर्ण फर्निचर ल्यापटप, कम्प्युटर, प्रिन्टर, कागजात सार्वजनिक यातायातमा आगजनी भएपछि जलेको हो ।

कार्यालयको भवन र सामग्री नष्ट भएपछि कार्यालयहरूको कामकाज बुधबार ठप्प रहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जिल्लामा क्षति भएको विवरण अहिलेसम्म आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले जिल्लाको अवस्था सामान्य भएको छ ।