देवराम यादव
सप्तरी, साउन २५ गते । सप्तरीको राजविराजस्थित रहेको कारागारबाट करिब एक सयभन्दा बढी कैदीबन्दी फरार भएका छन् । जेलर गंगालाल योगीका अनुसार कारागारमा हाल ३९८ जना कैदीबन्दी रहेकोमा सोमध्ये एकसयभन्दा बढी कैदी फरार भएको पुष्टि भएको छ । “आगो नियन्त्रणमा लिन तथा सुरक्षाका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन गरिएको छ” योगीले बताउनुभयो ।
फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको उहाँको भनाइ छ । यसैबिचमा दुई जना फरार कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
कारागारभित्र अहिले नेपाली सेनाले कडा सुरक्षा दिएको छ । आगलागीबाट कारागारको संरचना पनि क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।