• २५ भदौ २०८२, बुधबार

बाँकेमा दर्जन बढी कार्यालयमा आगजनी, १० अर्ब बढीको क्षति

blog

आगलागीबाट ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली सेना । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २५ गते । बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुरमा रहेका स्थानीय सरकारका कार्यालयसहित करिब एक दर्जन बढी सरकारी कार्यालयमा आगजनी हुँदा करिब दश अर्व बढीको क्षति भएको अनुमान गरिएको छ ।  

बुधवार जेनजी प्रदर्शनको क्रममा जिल्लाका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश सरकारी कार्यालयहरुमा गरिएको आगजनीबाट करिब १० अर्बको क्षति भएको अनुमान गरिएको छ । 

जेनजी प्रदर्शनकारीहरुको नाममा गरिएको आगजनी तथा तोडफोडबाट नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालय लगायत ध्वस्त भएका छन् । 

ती कार्यालयमा रहेका सम्पूर्ण सामग्रीसहित कागजपत्र तथा सयौंको संख्यामा मोटरसाइकल र गाडीहरु पनि जलाएर ध्वस्त पारिएका छन् । ठुलो संख्यामा रहेको भिडले विभिन्न नाराहरु लगाउँदै ती सबै कार्यालयमा पुगेर त्यहाँ आगो लगाई सबै सामान तथा भवन जलाएर ध्वस्त बनाएको हो । 

यसअघि उनीहरुले पासाङल्हामु मार्गमा रहेको नेकपा (एमाले) बाँकेको कार्यालय र सुर्खेतरोडमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएका थिए । पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक तथा विपि चोकमा रहेको विपि कोइरालाको शालिक समेत तोडफोड गरेर ध्वस्त बनाएका थिए । 

उच्च अदालतको नेपालगन्ज इजलाश, मालपोत कार्यालय र जिल्ला अदालत बाँकेमा गरिएको आगजनीले त्यहाँबाट निस्केको धुवाँको मुस्लोले सँगैरहेको भेरी अस्पताल ढाकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको भेरी अस्पतालका चिकित्सकहरुको भनाइ छ । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले नजिकै विभिन्न कार्यालयमा भएको आगलागीले बिरामीलाई जोखिममा पारेको बताउनुभयो । धुवाँको मुस्लोले अस्पताल पुरै छोपिंदा समस्या भएको थियो । 

सोमबार काठमाडौँदेखि देशको विभिन्न ठाउँहरुमा जेनजीहरुको प्रदर्शनमा बाँकेका दुई जनासहित १९ जनाको मृत्यु भएको आक्रोशमा युवाहरुले बुधवार बिहानैदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा टायर बालेर विभिन्न ठाउँहरुमा प्रदर्शन गरेका थिए ।