काठमाडौँ, भदौ २५ गते । नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति भएको छ ।
सोमबार बिहान काठमाडौँको माइतीघरलगायत देशका मुख्य सहरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिई हिंसात्मक बन्दा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदर्शनमा सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीहरूको अनियन्त्रित भिडले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटर, रामशाह पथमा रहेको सर्वोच्च अदालत, जिल्ला अदालतलगायत मुलुककै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनी ग¥यो । विगतका कुनै पनि शान्तिपूर्ण राजनीतिक आन्दोलनमा यस्तो हिंसा, आगजनी र लुटपाट भएको थिएन ।
आगजनीबाट राणाकालीन सम्पदाको मुख्य भवन सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत अरू मन्त्रालय र कार्यालयमा भएको भौतिक एवं तथ्यतथ्याङ्कका प्रमाणको क्षति अकल्पनीय छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा इसं १९०३ मा बनाउन लगाएको त्यसबेलाको एसियाकै ठुलो यो दरबारमा एक हजार सात सय वटा कोठा थिए । विसं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय (सबै मन्त्रालयहरू) राखियो । विसं २०३० मा ठुलो आगलागी हुँदा यसको पछाडिपट्टिको धेरै जसो भाग नष्ट भएको थियो । २०७२ को भूकम्पले क्षतिग्रस्त मुख्य भवन पुननिर्माण भएपछि पुनः आगलागीमा प¥यो ।
आगजनी र तोडफोडबाट उपत्यकाका अधिकांश सरकारी कार्यालय, सुरक्षा निकायका भवन र पोस्टहरू, सरकारी उच्च पदस्थ अधिकारी तथा राजनीतिक पार्टीका कार्यालय र निजी निवासहरूमा आगजनी तथा तोडफोड गरी ध्वस्त पारिएको छ । निशानामा परेका भवन तथा व्यापारिक केन्द्रहरूमा समेत लुटपाट भएको छ । मङ्गलबार राजधानीमा भऐको प्रदर्शनमा ठुलो सङ्ख्यामा प्रहरीतर्फ भौतिक क्षति र हताहती भएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीसँगको झडपमा महाराजगन्जमा कम्तीमा चार जना, कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मुत्यु भएको छ । त्यसै गरी नयाँ बानेश्वर प्रभाग र कालीमाटी प्रभागमा पनि प्रहरीतर्फ ठुलो क्षति भएको जनाएइको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी युनिटहरूमा अकल्पनीय मानवीय तथा भौतिक क्षति भए पनि त्यसको यकिन विवरण भने सङ्कलन हुन सकेको छैन । सबै प्रहरी युनिटहरू प्रदर्शनकारीको निसानामा परेका कारण अरू युनिटसँग सम्पर्क हुन सकेको छैन । प्रदर्शनकारीहरूले नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण मिडिया नेटवर्कलगायतका भवनमा समेत आक्रमण गरे ।
प्रदर्शनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय, नेकपा एमाले, नेकपा माओवादीलगायत पार्टीका कार्यालय र नेताहरूको घरमा आगजनी, तोडफोड र लुटपाट गरे ।
प्रदर्शनकारीहरू पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रवेश गरी देउवा र उहाँकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । त्यसै गरी महामन्त्री गगन थापाको घरमा आगजनी तथा तोडफोड गरे ।