• २५ भदौ २०८२, बुधबार

जेनजी आन्दोलनपछि बागलुङमा सन्नाटा

blog

निषेधाज्ञा आदेशपछि सुनसान बनेको बागलुङ बजार । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, भदौ २५ गते । मंगलबार दिनभर हजारौंको भिडले गरेको आन्दोलनमा बागलुङ तुलनात्मक शान्त थियो । जिल्लास्थित राजनीतिक दलका कार्यालय बाहेक अन्यत्र तोडफोड र आगजनी भएन । रातको समयमा अपरिचितहरु जथाभावी हिंड्ने र अवान्छित क्रियाकलाप गर्न खोजेपछि प्रशासन त्रसित भयो । 

आन्दोलन सकिएपछि शान्त रहनुपर्ने बागलुङमा घटना बढ्न सक्ने भएकै कारण बुधबार जिल्लामा निशेधाज्ञा र रातिका लागि निषेधाज्ञा जारी भइसकेको छ । निशेधाज्ञाकै कारण बुधबार बजार क्षेत्रमा सन्नाटा छायो । पश्चिमदेखि रात्रीबस चल्ने बागलुङमा बुधबार दिनभर कतैबाट सवारी भित्रिएनन् । बजारभित्र छिटफुट मोटरसाइकल र पानी बोक्ने गाडी मात्र गुडेको देखिएको छ ।

सन्नाटाबिच बुधबार बागलुङ नगरपालिका वडा १२ को कार्यालय तोडफोड भएको छ । त्यतिमात्र हैन, कारागारमा कैदीबन्दीहरुको आन्दोलन भयो । उनीहरु भाग्ने खतरा भएपछि सेना परिचालन गर्नुपरेको सुरक्षाकर्मीको भनाइ छ । कारागारमा नेपाल प्रहरी र सशस्त्र पनि परिचालित छ ।

सरकारी संरचनामा तोडफोड र आगजनी हुने खतराले प्रशासनले बुधबार दिनभर निशेधाज्ञा लगायो । तर पनि कुनै नकुनै रुपमा घटनाहरु बढ्न सक्ने देखेपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ । घटनाहरु थोरै मात्र भए पनि बागलुङ बुधबार पनि  तनाबमा रह्यो । 

छिटफुट निस्केका स्थानीयको अनुहारमा पनि खुसी छैन । अन्यौलता देखिएको छ । सबैले के हुनेहो भन्ने मात्र जिज्ञाशा राख्नेगरेका छन् । त्यसो त केन्द्रमा जेनजी आन्दोलन फिर्ता भएर नयाँ नेतृत्वका लागि वार्ता सञ्चालन भइरहेको छ । 

बुधबार भएका घटनाहरुप्रति जेन–जी समूहबाट पनि आधिकारिक धारणा केही आएको छैन । तसर्थ तोडफोडका घटनामा घुसपैठ भएको पनि हुन सक्ने आंकलन छ । तर यो बेला जेजस्ता घटना हुनसक्छन् त्यसबाट सर्तक रहनुनै उत्तम बिकल्प हुने अधिकारीहरुको भनाइ छ । 

निशेधाज्ञाले बजार ठप्प छ । खाद्यान्न, तरकारी र दुध लगायतको बिक्रीमा केही समस्या छ । तर पनि तत्काल समस्या नपर्ने गरी बिहान र बेलुकीको समयमा अत्यावश्यक सामग्रीको किनमेल गर्नमा भने रोक लगाइएको छैन । यो परिस्थिति कहिलेसम्म रहने भन्नेमा सबै अन्यौल छन् । व्यवसायीहरुमा बढी त्रास देखिएको छ । लुटपाट हुन सक्ने भन्दै कतिपय व्यवसायीले सामान्य अबस्थामा पसल बन्द गरेका छन् ।