गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने भन्दै त्यसका लागि आवश्यक पहलका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।
एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुहुँदै युवा पुस्ताको माग संविधान सम्मतरुपमा सम्बोधनको आवश्यकता रहेको बताउनुभएको छ ।
"परिणाममुखी संवादको माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा सम्वोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ", एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्न नहुने एमालेले भनेको छ ।
असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेनालगायत सबै सुरक्षा अङ्गहरुसँग एमालेले आग्रह गरेको छ ।
देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको जनाउँदै एमाले नेताहरुले भन्नुभएको छ, "सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुलकार, गाडीका शोरुम, ब्याङ्कलगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ ।"
जेलबाट गम्भीर कसुरमा दोषी साबित भएका हजारौँ कैदीबन्दीहरु बाहिरिएको र राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएको कुरा एमालेले उल्लेख गरेको छ ।
"कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ", एमालेले विज्ञप्तिमामार्फत माग गरेको छ ।
यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न एमालेले आग्रह गरेको छ । "हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्तिजस्ता असामान्य चुनौतीसँग जुझ्दै र विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ" उल्लेख गर्दै महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीले भन्नुभएको छ, "सङ्कटको यस घडीमा सबैलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयाश गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्न आग्रह गर्दछौँ ।"
"यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु महत्वपूर्ण रहेको एमालेले भनेको छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैसामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा त्यसको रक्षाका लागि रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ", विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र चारसयभन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको भन्दै एमालेले दुःख व्यक्त गरेको छ । घटनामा परेर दुःखद अवसान हुनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।