• २५ भदौ २०८२, बुधबार

देउवा र अन्य नेतामाथिको आक्रामणप्रति घोर निन्दा

जेनजी प्रदर्शन : दुःखद् घटनाप्रति कांग्रेस दुःखी

blog

काठमाडौँ, भदौ २५ गते। नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। 

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विज्ञप्ति सार्वजनिक गर्दै युवा र केही सुरक्षाकर्मीको ज्यान गएकोप्रति दुःख व्यक्त गर्नुभएको हो। 

'नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, महतले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै युवा र केही सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुःखदायी छ।’

कांग्रेसले मृतकमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। 

‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ। देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा समेत आगजनी हुनु गम्भीर छ।’

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गरेको छ। 

विज्ञप्तिमा थप भनिएको छ, ‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यो जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथी एकजुट भएर आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ। लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुनु आवश्यक छ।’