काठमाडौँ, भदौ २५ गते। सोमबार र मङ्गलबार दुई दिन भएको जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर एक हजार ६१ जना घाइते भएकामध्ये सात सय १९ जना उपचारपछि डिस्चार्ज भएका छन्।
दुई सय ७४ जना देशका विभिन्न २९ अस्पतालमा उपचारत छन्। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिनुभयो।
त्यसैगरी, सिभिल अस्पतालमा छ, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीनतीन जनाको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेज सिनांमगल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईदुई जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा एक र भेरी अस्पतालमा पाँच जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालमा उपचारका लागि पुगेका दुई सय ४९ घाइतेमध्ये १२ जनाको शल्यक्रिया गरिएको छ। अन्य नौ जनाको शल्यक्रिया गर्ने योजना छ। ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ।