चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो ।
फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको छ । घर नै बगाउनेगरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको मृतक शेर्पाका भतिज पासाङग्याबु शेर्पाले बताउनुभयो । मैवाखोला गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार बुधबार बिहान गएको पहिरोमा परी बेपत्ता हुनुभएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्छाएर निकालिएको छ ।
अस्थायी प्रहरीचौकी फाकुम्बाका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार दलबहादुर श्रेष्ठ नेतृत्वको टोली र स्थानीय समेतले पहिरो पन्छाएर शव निकाल्ने काम भएको शेर्पाले बताउनुभयो । यस्तै, सो पहिरोमा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा दारिन्जेन शेर्पा, टासीजाङ्बु शेर्पा र याङ्जी शेर्पा रहनुभएको छ ।
उक्त पहिरोका कारण घरपरिवार विस्थापित भएका छन् । मैवाखोलाका कार्यपालिका सदस्य शेर्पाका अनुसार सुरतलाल चौधरी, जिवापासाङ शेर्पा, पासाङग्याबु शेर्पा, निमारिन्जेन शेर्पा र मिङ्मा शेर्पा (कोटेसाइँला) को परिवार विस्थापित भएका छन् । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसँग समन्वय भइरहेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो ।