विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २५ गते । मङ्गलबार दिनभर तनावग्रस्त सप्तरी सदरमुकाम राजविराज अनिश्चितकालीन कर्फ्युको आदेशपछि बुधबार सुनसान देखिएको छ ।
‘जेनजी’ को नामबाट सुरु भएको प्रदर्शनले दिउँसो उग्ररुप लिँदै सरकारी कार्यालयहरुमा आगजनी गरेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कर्फ्युको आदेश जारी गर्नुभएको सुरक्षामा नेपाली सेना खटिइएपछि राजविराज बजार सुनसान देखिएका हो । योसँगै यहाँको अवस्था सामान्य बन्दै गएको छ ।
राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका क्षेत्रभित्र उत्तर रुपनीमोड, पूर्व बजरंगबली मन्दिर, कञ्चनपुररोड हुुँदै कोशी पम्पनहर, दक्षिण कोशी व्यारेजबाट छुटिएको बडी नहर हुँदै बरही विरपुर चौक, छिन्नमस्ता मन्दिर जाने विष्णुपुर चौक हुँदै उत्तर राजविराजको सिरहा रोड जोड्ने ठाउँदेखि पश्चिम रहेको नाली हुँदै पुल्चौक जोड्ने सडकदेखि पूर्व रुपनी मोडसम्म अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्युको आदेश जारी गरिएको छ ।
मङ्गलबार रातिदेखि अहिलेसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।
उहाँले ‘जेनजी’ को नाममा घुसपैठ भएर अवांछित गतिविधि पनि हुन सक्ने भएकाले यसतर्फ आम नागरिक र युवा दुवैलाई सचेत हुन आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले मङ्गबार प्रदर्शनको क्रममा भएको आगजनीबाट भएको क्षति विवरण अहिले सम्म आई नपुगेको बताउनुभयो । उहाँले आज साँझसम्म क्षति विवरण आउने जानकारी दिनुभयो ।