• २५ भदौ २०८२, बुधबार

स्याङ्जाका पाँच पालिका अनिश्चितकालिन बन्द

blog

‘जेनजी’ पुस्ताको प्रदर्शन ।

अर्जुन काफ्ले

स्याङ्जा, भदौ २५ गते । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा पाँच पालिकाले अनिश्चित कालका लागि पालिका बिदा गरेका छन्। 

भदौ २३ र २४ गते देश भरी जेनजीको आन्दोलन तथा प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा नेपाली हताहती भएको घटनाले मर्माहत बनाएको भन्दै बन्द गरिएको हो । 

यहाँको गल्याङ, भीरकोट र वालिङ नगरपालिका तथा हरिनाश र बिरुवा गाउँपालिकाले विज्ञप्ति मार्फत बुधबारबाट अनिश्चित कालिन बन्दको घोषणा गरेका हुन् । 

देशको विषम परिस्थितिका परेको भन्दै पालिकाले वडा कार्यालय, शैक्षिक संस्थाहरू एवम् सम्पूर्ण सङ्घ संस्थाहरूमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिदा दिने निर्णय भएको बताइएको छ ।

विज्ञप्तिमा घटनामा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न समेत अपिल विज्ञप्तिमा गरिएको छ । 

यहाँ जेनजीले बन्दमा विरोध गरेपनि ठुलो अप्रिय घटना भने नभएको हो । यहाँ मङ्गलबार जिल्लाका ठाउँ ठाउँमा विरोध गरिएकोमा सदरमुकाम स्याङ्जा बजारमा समान्य क्षति भएको हो । 

यहाँका नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय र पुतलीबजार नगरपालिकामा जेनजीले सिसाहरू फुटाउदाँ सामान्य क्षति भएको प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले बताउनुभयो । 

जेनजीहरू आन्दोलनमा देशभर धेरै क्षति पुगे पनि यहाँ सम्यम भएर आन्दोलन गरेका थिए ।