• २५ भदौ २०८२, बुधबार

तनहुँका अधिकांश सरकारी कार्यालयमा आगजनी

blog

सरकारी वकिल कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २५ गते । तनहुँ जिल्लामा जेनजी समूहको आन्दोलन चर्किएपछि अधिकांश सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र सवारी साधन तोडफोड तथा आगजनीमा परेका छन् । मङ्गलबार बिहानैदेखि सुरु भएको प्रदर्शन साँझसम्म पुग्दा सदरमुकाम दमौली युद्धग्रस्त क्षेत्रझैँ देखिएको स्थानीयले बताएका छन् । 

प्रदर्शनकारीले सरकारी कार्यालय मात्र नभई ठुला दलका जिल्ला पार्टी कार्यालय र नेताहरूकै घरलाई समेत आक्रमणको निसानामा पारेका छन् । 

व्यास नगरपालिकाभित्र रहेका दलका कार्यालयहरू, अदालतदेखि कारागारसम्म, करिब सबै मुख्य सरकारी निकायमा तोडफोड र आगजनी हुँदा कागजातदेखि सवारी साधनसम्म जलेर नष्ट भएका छन् । सदरमुकाममा रहेका जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सरकारी वकिल कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, तनहुँ कारागार, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ लगायतका निकायमा आक्रमण भएको हो । 

जिल्ला समन्वय समितिका सम्पूर्ण कागजात र सवारी साधन जलेर नष्ट भएको जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालय भवनमा समेत ठुलो क्षति पुगेको छ । 

आन्दोलनकारीले जिल्ला सभाहलसमेत तोडफोड गरेका थिए । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी कार्यालयहरूमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । 

कार्यालयभित्र रहेका कागजात, कुर्सी, मेज र अन्य सामग्री बाहिर ल्याएर जलाइएको प्रहरीले जनाएको छ ।

आन्दोलनको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको व्यास–२, अमरापुरीस्थित घरसमेत आक्रमणमा परेको छ । प्रहरीका अनुसार घर वरिपरि तोडफोड हुँदा स्थानीयवासी थप त्रासमा परेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । 

उहाँका अनुसार क्षति ग्रस्त कार्यालयका प्रमुखहरूलाई तत्काल विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि आन्दोलनकारी सडकमा भिडभाडका साथ देखापरेपछि दिनभर सदरमुकाम तनावग्रस्त बनेको थियो । 

मङ्गलबारको भीषण आन्दोलनपछि बुधबार भने अवस्था केही सामान्य बनेको छ । आन्दोलनकारी सडकमा नउत्रिँदा बजार र सार्वजनिक सेवा आंशिक रूपमा सञ्चालनमा आएका छन् ।