भवानीदत्त भट्ट
कञ्चनपुर, भदौ २५ गते । कारागार कार्यालय कञ्चनपुरमा २४ कैदीबन्दी फर्किएका छन् । मङ्गलबार आन्दोलनकारीहरूले कारागारको ताला तोडेर कैदी बाहिर निकाले पनि २४ कैदीबन्दी भने कारागारमा फिर्ता आएको कारागार प्रशासनले जनाएको हो ।
कारागार कार्यालय कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीका अनुसार चार सय ५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी रहेका कारागारमा अहिले २४ कैदीबन्दी मात्र रहेका छन् । मङ्गलबार साँझ प्रर्दशनकारीहरूले कारागारमा लगाएका सबै ताला तोडेर कैदीहरूलाई बाहिर निकालेपछि २४ कैदीहरू बुधवार दिउँसोसम्म फिर्ता आएका उहाँले बताउनुभयो ।
यसैगरी, मङ्गलबार साँझ झण्डै एक हजार जनाको सङ्ख्यामा आएको आन्दोलनकारीहरूको समूहले कारागारमा रहेका पाँच जना कैदीमाथि कुटपिट गरेको निमित्त जेलर रामदत्त जोशीले बताउनुभयो । कैदीबन्दीहरूलाई जबरजस्ती बाहिर निकालिरहेको उक्त समूहले बाहिर निस्कन नमानेको भन्दै कैदी प्रेम सुनार सहित पाँच जना कैदीहरूलाई रडले प्रहार गरेर कुटपिट गरेको उहाँले बताउनुभयो ।
सुनारको पिठ्युँमा चोट रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
लागु औषध मुद्दाका अत्यधिक कैदी
कारागार कार्यालय कञ्चनपुरमा लागु औषध मुद्दाका अत्यधिक कैदी बन्दी रहेका छन् । निमित्त जेलर जोशीका अनुसार, कारागारमा १३ भारतीय नागरिक सहित १४९ पुरुष र ६ महिला कैदी बन्दी लागु औषध मुद्दाका रहेका छन् ।
यसैगरी जबरजस्तीकरणी उद्योगका १ विदेशीसहित ९८ जना पुरुष र २ महिला कैदी रहेका थिए । कारागारमा कर्तव्य ज्यान मुद्दाका ५८ जना, ज्यान मार्ने उद्योगका ८ जना, मानव बेचबिखन तथा ओसार पसारमा १८ जना, चोरी तर्फ ६५ जना, ठगी मुद्दाका ९ जना, सवारी ज्यान मुद्दाका १० जना, वन्यजन्तु मुद्दाका १ जना, बहुविवाह मुद्दाका ११ जना, साङ्गठनिक अपराधका ७ जना र विविध मुद्दा अन्तर्गत १० जना कैद भोगिरहेका थिए ।
कारागारबाट निस्किएका कैदीहरू सम्पर्कमा ल्याउन प्रयासरत रहेको कारागार प्रशासनले जनाएको छ ।
यस्तै, सुरक्षा व्यवस्था पुर्णरूपमा लागु गर्न नसक्दा जिल्ला स्थित सरकारी कार्यालयहरू प्रदर्शनकारीको निसानामा परेका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चित कालिन निषेधाज्ञा जारी गरे पनि जेनजी समूहका युवाहरूले निषेधाज्ञाको उल्लङ्घन गर्दै जिल्ला स्थित सरकारी कार्यालयमा तोडफोड गर्नुका साथै नेताहरूको घरमा आगजनी समेत गरेका थिए ।
प्रर्दशनकारीहरुले सरकारी कार्यालय, नेता, पदाधिकारी, नगर प्रमुखका घर, गाडीमा तोडफोड गर्नुका साथै आगजनी गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
उहाँका अनुसार महेन्द्रनगरस्थित निवर्तमान गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पाल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, कांग्रेसका नेता मधु भारती, बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
यसैगरी, जेनजी समूहले जिल्ला स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, दोधारा चाँदनीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, भीमदत्त नगरपालिकामा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
प्रर्दशनकारीहरूले कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझासहित प्रमुख प्रशासकीय अधिकृत सहीत कर्मचारी चढ्ने सवारी साधनमा आगजनी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
जिल्लास्थित सरकारी कार्यालयमा भएको क्षतिको मुल्याङ्कन भने नभएको उहाँले बताउनुभयो । बुधबारेदेखि महेन्द्रनगर सहित जिल्लाभरि नेपाली सेना परिचालन गरिएको छ ।