• २५ भदौ २०८२, बुधबार

२६ कैदीबन्दी नियन्त्रणमा : ३२ थान हतियार बरामद

blog

सुरक्षा निकायले बरामद गरेका गरेका हतियार । तस्बिर : नेपाली सेना

काठमाडौँ, भदौ २५ गते । नेपाली सेना लगायत अन्य सुरक्षा निकाय देशभर परिचालनमा रहेपछि थप सुरक्षात्मक कदमहरू चालेका छन् । सेनाले जारी गरेको पछिल्लो अपडेटअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म राजधानीसहित विभिन्न स्थानमा लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको छ ।

महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । त्यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न केही व्यक्तिहरू सुरक्षाकर्मी देखेपछि भागेका थिए । उक्त क्रममा नेपाली रुपियाँ २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २,५०० नगद बरामद गरिएको सेनाले जनाएको छ ।

यसैबिच, सुरक्षाकर्मीबाट लुटिएका थप एक नाल हतियार बरामद भइसकेको छ । यससँगै हालसम्म बरामद हतियारको सङ्ख्या ३२ पुगेको छ ।

नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । साथै, काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई समेत नियन्त्रणमा लिन सकिएको छ ।

नेपाली सेनाले देशभर शान्ति सुरक्षा कायम राख्न अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै कारबाही जारी राखेको र नागरिकलाई सहयोग र सचेत रहन आग्रह गरेको छ ।