अस्मिता पोखरेल
धादिङ, भदौ २५ गते । धादिङ जिल्लाभर निषेधाज्ञा जारी छ ।
भदौ २५ गते (आज) १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
हाल देशभर विकसित भइरहेको जेनजीको प्रदर्शन क्रमशः सामान्यीकरण हुँदै गएको भए पनि व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति पुर्याउने अराजक गतिविधि हुन सक्ने सूचना प्राप्त भएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०८२ भाद्र २५ गते बिहान १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको हो।
निषेधाज्ञा अवधिभर धादिङ जिल्लामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्ने वा पालना नगर्ने जो कोही उपर प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।