काठमाडौँ, भदौ २७ गते । भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।
डा. चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए । जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा उपचारत छन्।