• २७ भदौ २०८२, शुक्रबार

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त वक्तव्य

विधिको शासन र संविधानवादको रक्षाका लागि अपिल

blog

प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल

काठमाडौं, भदौ २७ गते । प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर नजान सबैलाई अपिल गर्नु भएको छ । 

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरूले भन्नुभएको छ, ‘‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं।’’

२०८२ भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटले काठमाडौं उपत्यकाका संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय, विभिन्न सरकारी कार्यालय, निजी आवास, सञ्चार गृह र व्यापारिक प्रतिष्ठानहरूमा ठूलो क्षति पुर्‍याएको छ। 

यस क्रममा आफ्नो ज्यान गुमाउने युवाहरू र राष्ट्रसेवक प्रहरीप्रति सभामुख र राष्ट्रिय सभाका अध्यक्षले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

उहाँहरूले घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यका सम्बन्धित संयन्त्रहरूलाई उपचारमा कुनै कमी नहुने गरी व्यवस्थापन गर्न विशेष आग्रह गर्नु भएको छ । 

देशमा विद्यमान विषम परिस्थितिमा नागरिक स्वतन्त्रता, सार्वभौमसत्ता, वक्तव्यमा राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण गर्दै संविधानिक प्रक्रियाबाटै समस्या समाधान गर्न राष्ट्रपतिले पहल गरिरहेको उल्लेख गरिएको छ ।