न्युयोर्क, भदौ २७ गते । सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् । आक्रमणमा मृत्यु र घाइते भएको घटनापछि बिहीबार बेलुकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन सत्र बसेको थियो ।
इजिप्टका प्रतिनिधि ओसामा अब्देल खालेकले गाजामा युद्धविराम र शान्ति कायम गर्न कतारले इजिप्ट तथा संयुक्त राज्य अमेरिकासँग गरेको समन्वय प्रयासको प्रशंसा गर्नुभयो । उहाँले इजरायलको आक्रमणलाई ‘प्यालेस्टिनी जनतामाथि भइरहेको नरसंहारको निरन्तरता’ भन्दै बेवास्ता नगर्न चेतावनी दिनुभयो । सुरक्षा परिषद दर्शक मात्र बन्न नहुने भन्दै उहाँले गाजामा आक्रमण रोक्न अध्याय ७ अन्तर्गत प्रस्ताव पारित गर्न आग्रह गर्नुभयो ।
खाडी सहयोग परिषद (जिसिसी) का तर्फबाट कुवेतका राजदूत तारिक अल बनाईले कतारको सार्वभौमिकता, सुरक्षा र स्थिरतामाथि भएको उल्लङ्घन अस्वीकार्य भएको बताउनुभयो । उहाँले यस घटनाका लागि इजरायललाई पूर्ण जिम्मेवार ठहर गर्दै खाडी राष्ट्रिय सुरक्षा ‘रेड लाइन’ भएको चेतावनी दिनुभयो । यस क्षेत्रमा अस्थिरता ल्याउने इजरायली नीति सामूहिक र कानूनी प्रतिवादमार्फत रोक्ने दृढतासमेत उहाँले प्रकट गर्नुभयो ।
इस्लामिक सहयोग सङ्गठन (ओआइसी) का तर्फबाट टर्कीका राजदूत अहमेत यिल्डिजले आक्रमणलाई ‘राज्य आतङ्कवाद’ र क्षेत्रलाई अस्थिर बनाउने योजनाबद्ध प्रयासको हिस्सा भन्नुभयो । कतारको सार्वभौमिकता र सुरक्षा उल्लङ्घनमा निर्णायक जवाफ दिने अधिकार र कर्तव्यमा ओआइसी एकताबद्ध रहेको उहाँले बताउनुभयो । साथै, उहाँले सुरक्षा परिषदलाई कतारविरुद्ध अन्यायपूर्ण सैन्य प्रयोग रोक्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गर्नुभयो । रासस/क्युएनए