• २७ भदौ २०८२, शुक्रबार

जेनजी आन्दोलन : नवलपुरमा क्षतिको विवरण संकलन हुँदै

blog

नवलपुरको कांग्रेस पार्टी कार्यालयमा भएको आगजनी ।

बोमलाल गिरी

नवलपुर, भदौ २७ गते । जेनजी आन्दोलनका क्रममा जिल्लाका स्थानीय पालिका र जनप्रतिनिधि तथा राजनीतिकर्मी तथा व्यावसायीको निजी तथा सार्वजनिक सम्पत्तिमा तोेडफोड र आगजनी भएको छ ।

आन्दोलनमा भएको घुसपैठबाट गण्डकी प्रदेशका कृषि, भूमी तथा सहकारीमन्त्री पद्मा जि.सी एवम् संविधानसभा सदस्य जीवन श्रेष्ठ, गण्डकी प्रदेश सभाका सदस्य रोशनबहादुर गाहा, महेन्द्रध्वज जि.सी, पूर्व प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेश सभा पूर्व सदस्य ओमकला गौतमको निवासमा तोडफोड र आगजनी भएको छ। 

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसाल, उपप्रमुख फुलकुमारी महतो, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, देवचुली नगरपालिकाका प्रमुख हरि न्यौपाने, उपप्रमुख पार्वती तिवारी, मध्यबिन्दु नगरपालिका नगर प्रमुख भीमलाल अघिकारी र उपप्रमुख पूर्णकला चौधरी, हुप्सेकोट गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डे र जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माको निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको छ ।

त्यस्तै आन्दोलनकारीले नेकपा एमाले जिल्ला उपसचिव षडान्नद लामिछाने र व्यावसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको घरमा तोडफोड र आगजनी गरेका छ । नेपाली कांग्रेस जिल्ला सचिव महेन्द्र पोख्रेल, प्रगतिनगरका व्यवसायी सागर न्यौपाने, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको घरमा पनि  तोडफोड भएको छ ।

त्यस्तै नेकपा एमाले, कांग्रेस, माओवादी, रास्वापा र राप्रपाका जिल्ला पार्टी कार्यालय, गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा पनि तोडफोड तथा आगजनी भयो । तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिको विवरण संकनल भइरहेको छ । क्षतिको विवरण अहिले आइसकेको छैन ।