प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २७ गते । मङ्गलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनापछि भयावह भएको रौतहटको अवस्था शुक्रबारदेखि सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार दिनको समयमा कर्फ्यु हटाएर निषेधाज्ञा लगाएको छ ।
बिहान ६ देखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लगाइएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारि किरणनिधि तिवारीले जानकारी दिनुभयो । शुक्रबार बेलुका ७ देखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ साथै अत्यावश्यक कार्यका लागि शुक्रबार बेलुका ५ देखि ७ बजेसम्म २ घण्टा आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ ५ देखि २ घण्टाका लागि कर्फ्यु हटाइएको थियो । आम सर्वसाधारणको दैनिक जनजीवनमा परेको असरलाई मध्य नजर गरी भदौ २६ गते साँझ ५ देखि ७ बजेसम्म दुई घण्टाका लागि दैनिक खाद्यान सामग्रीलगायत दैनिक जनजीवनसँग सम्बन्धित अत्यावश्यक सेवा सञ्चालनका लागि कर्फ्यु हटाइएको थियो ।
मङ्गलबार दिनको १२ बजेदेखि रौतहटका केहि स्थानमा लगाइएको कर्फ्यु दिउँसो ३ बजेदेखि रौतहटभरी अनिश्चितकालिन लगाइएको थियो ।
औषधी पसल, पेट्रोल पम्प निर्वाध रुपमा सञ्चालन भएका छन् भने फाटफुट रुपमा अन्य पसल शुक्रबारदेखि खुलेका छन् । बजारमा चहल पहल नदेखिए पनि अवस्था भयाबह नरहेको गौर–४ का स्थानीय ओम प्रकाश साह मधेशियाले बताउनुभयो ।
मङ्गलबार रातिदेखि नै नेपाली सेना सडकमा उत्रेपछि अवस्था विस्तारै सामान्य बनेको हो । जेनजी आन्दोलनका क्रममा चन्द्रनिगाहपुरका अधिकांश सरकारी संरचना ध्वस्त भएका छन् ।
चन्द्रनिगाहपुरको इलाका प्रहरी कार्यालय जलेर नष्ट भएका कारण प्रहरी कार्यालय सञ्चालनमा आउन सकेको छैन ।