सन्तोष दहित
दाङ, भदौ २७ गते । दाङमा कर्फ्यू हटेपछि जिल्लाभित्रका सरकारी कार्यालयका कर्मचारीहरु आफ्ना–आफ्ना कार्यस्थलमा उपस्थित भई सरसफाईमा जुटेका छन्। जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनका क्रममा दर्जनौं कार्यालयमा तोडफोड र आगजनी भएपछि त्यहाँका कर्मचारीले कार्यालय सञ्चालनअघि परिसर सफा गर्ने कामलाई प्राथमिकता दिएका हुन्।
दाङ जिल्ला अदालतका कर्मचारीहरुले समेत कार्यालय बाहिर प्रदर्शनकारीले जलाइदिएका सामग्री हटाउने काम सुरु गरेका छन्। जिल्ला अदालत कार्यालय दाङका कर्मचारीहरु जिल्ला अदालत कार्यालयको परिसरमा जलाएका सामग्रीको सरसफाई गरिरहेको कार्यालय शाखा अधिकृत एवम् सूचना अधिकारी गोकर्ण वलीका जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालतका सबै अहिले सरसफाईमा जुटेकाछन् । “पहिलो चरणमा जलाइएका सामग्री हटाउने र परिसर सफा गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसपछि कार्यालयभित्र पनि सरसफाई गर्छौ ।” यद्यपि नागरिकलाई दैनिक दिइने सेवा अनिश्चित भएको उहाँले बताउनुभयो । अदालतभित्र रहेका सम्पूर्ण फाइल, मिसिल, कम्प्युटर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले नियमित सेवा दिन केही समय लाग्ने सूचना अधिकारी वलीले बताउनुभयो ।
यस्तै, जिल्ला अदालत मात्र नभई अन्य कार्यालयका कर्मचारीहरु पनि आ–आफ्नो कार्यालयमा सरसफाईमा सक्रिय रहेका छन्। घोराही, तुलसीपुर, लमही लगायतका क्षेत्रमा करिब ६ दर्जनभन्दा बढी सरकारी कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरुका घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा जेनजी आन्दोलनका प्रदर्शनकारीहरुले आगजनी गरेका थिए।
आगजनीका कारण जनतासँग प्रत्यक्ष सम्बन्धित सेवा ठप्प भएको छ। सरसफाई अभियानसँगै कार्यालय पुनः सञ्चालन गर्ने प्रयास सुरु भए पनि सेवाग्राहीलाई सहज सुविधा लिन अझै केही समय प्रतिक्षा गर्नुपर्ने देखिएको छ।