सिराज खान
नेपालगन्ज, भदौ २७ गते । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपालगन्जसहित बाँकेको जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि नेपाली सेनाले जारी गरेको कर्फ्यू आदेश खुकुलो हुँदैजाँदा यहाँको अवस्था सामान्य बन्न लागेको हो ।
नेपाली सेनाको नियमित गस्ती माइकिङ र सुरक्षाका कारण बिहीबारदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजारक्षेत्र शान्त रहेपछि शुक्रबारदेखि सबै पसल व्यवसाय सञ्चालनमा आएका छन् ।
विहीबार नेपालगन्जस्थित कारगारमा आगजनी गरेर कैदी बन्दीले भाग्ने असफल प्रयास गरेपछि सेनाले गोली चलाएर अवस्था नियन्त्रणमा लिएको थियो । शुक्रवार बजारमा चहलपहल बढेको छ भने यातायातका साधनहरु उल्लेख्य मात्रामा चल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी रहेको सूचना प्रकाशित गरेर भेला, जुलुस, प्रदर्शन र होहल्ला गर्न नपाइने जनाएको छ । अहिले बाँकेको स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले अधिकांश पसल र व्यवसाय सुचारु भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताउनुभयो ।
सेनाले जारी गरेको कर्फ्यू हटेसँगै जिल्लामा बजार, यातायात तथा अन्य सेवा पुनः सञ्चालनमा आएका छन् । गत तीन दिनदेखिको बन्दले मजदूरी गरेर दुई छाक टार्ने तथा रिक्सा चलाउनेहरु सबैभन्दा बढी पीडित भएको उनीहरुले जनाएका छन् । बैटरी रिक्सा चलाउँदै आएका नेपालगन्ज –११ का नन्कु शेषले तीन दिन रिक्सा नचलाउँदा घरमा खाने पैसा सकिएकाले विहीबारबाटै छिटपुट रिक्सा चलाएको र शुक्रवारदेखि पूर्ण रुपमा चलाउन थालेको बताउनुभयो ।
यसैविच नेपालगन्ज वडा ११ ले वडाभित्रको सरसफाई निरन्तर गरिरहेको जनाएको छ । वडा अध्यक्ष नन्दकिशोर कश्यपले बन्द, निषेधाज्ञाको समयमा पनि सरसफाई जारी राखिएको बताउनुभयो ।