• २७ भदौ २०८२, शुक्रबार

आगजनीपछि सरकारी कार्यालयको सेवा ठप्प

blog

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २७ गते । जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार सरकारी कार्यालयहरूमा आगजनी भएपछि ती कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको छ । 

वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ नम्बर कार्यालय कार्यालय आगजनीबाट ध्वस्त पारिएको छ । अहिले यी कार्यालयबाट प्रदान गरिने सेवा ठप्प भएका छन् । यी कार्यालयबाट सेवा कहिलेदेखि प्रदान गर्ने भन्ने कुनै यकिन छैन । ती कार्यालयमा मङ्गलबार आगजनी गरिएको थियो । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले कार्यालयमा क्षति भएदेखि कुनै पनि सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । उहाँले आगजनीबाट नगरपालिकाको कार्यालयका साथै १ नम्बरदेखि १२ नम्बर वडा कार्यालय पनि ध्वस्त भएकाले वडाबाट पनि सेवा प्रदान हुन नसकेको जानकारी दिनुभयो । अहिले कार्यालयमा भएको मौखिक क्षति सङ्कलनको काम भइरहेको र प्रहरी आएर थप मुचुल्का लिन नसकिएको उहाँले बताउनुभयो । अहिले देशको अवस्थाले गर्दा कहिलेदेखि सेवा सुरु गर्ने भन्ने यकिन छैन । माथिबाट निर्देशन आउनासाथ सेवाग्राहीलाई सेवा दिन सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत बाँस्कोटाले दिनुभयो । उहाँका अनुसार आगजनीबाट के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क अझै तयार गर्न सकिएको छैन । नगरपालिका र वडा कार्यालयका साथै नगरप्रमुख मोहनमाया ढकालको वीरेन्द्रनगर नगरपालिका–१० मा र नगर उपप्रमुख नीलकण्ठ खनालको वीरेन्द्रनगर नगरपालिका–४ मा भएको घरमा पनि आगजनी भएको छ । 

उता वीरेन्द्रनगर नगरपालिका–४ वडा कार्यालयमा आगजनी गरेपछि वडाबाट दिने सेवा बन्द भएको छ । वडाध्यक्ष शेरबहादुर केसीले वडा कार्यालय अहिले सेवा दिन अवस्थामा नरहेको बताउनुभयो । उहाँले आगजनीबाट कागजातसहित उपकरण जलेको हुँदा पूर्ववत् अवस्थामा आउन केही समय लाग्ने जानकारी दिनुभयो । 

उहाँले पनि क्षतिको मुचुल्का उठाउने तयारी भइरहेको बताउनुभयो । यस्तै आगजनीबाट क्षति पुगेको नापी कार्यालयमा पनि आगोबाट जलेका सामान सङ्कलन गर्ने काम भइरहेको छ । कर्मचारीले कार्यालय सफाइका साथै जलेका र नजलेका कागजात सङ्कलन गर्ने काम गरिरहेका छन् । 

आगजनीबाट कर्णाली प्रदेश सभा, मुख्यमन्त्री निवास, मुख्यमन्त्रीको निजी घर, प्रदेश लेखा नियन्त्रण कार्यालयलगायतलाई पनि निसाना बनाई आगजनी गरेर पूर्ण रूपमा ध्वस्त गराइएको छ । त्यस्तै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, कांग्रेस उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्का, प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्मर खड्का, माया पेट्रोल पम्पमा पनि तोडफोड गरिनुका साथै आगजनी गरिएको थियो ।