• २७ भदौ २०८२, शुक्रबार

भागेका कैदी नियन्त्रणमा कारागारमा सेनाको कमान्ड

blog

फाइल तस्बिर

सचिन पोख्रेल

विराटनगर, भदौ २७ गते । जेनजीले गरेको आन्दोलनको गलत फाइदा उठाउँदै पूर्वी नेपालको विभिन्न कारागारबाट भागेका र भाग्ने प्रयास गरेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर पुनः कारागारमा बुझाइएको छ । सुनसरीको झुम्कास्थित कारागार तोडेर भागेका कैदीबन्दीलाई नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर र भगवती दल गणको सक्रियतामा नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनलाई बुझाइएको हो । 

सेनाका अनुसार कारागारबाट भागेका एक हजार ७९९ कैदीबन्दीमध्ये ३०१ जनालाई सुनसरीको रामधुनी जङ्गल क्षेत्र, झुम्का बजार, विराटनगरलगायतका स्थानबाट नियन्त्रणमा लिइएको थियो । अन्यको खोजी भइरहेको पनि सेनाले जनाएको छ । हाल कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । कैदीबन्दीले ताला फोडेर भाग्ने प्रयास गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको थप टोली परिचालन गरी कारागारपरिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ कारागारमा हाल एक हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । 

यसैबिच विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट भागेका १५६ बाल बिज्याइँकर्तालाई पनि सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधारगृहमा रहेका कुल २५५ जनामध्ये करिब ५१ जना नभागी भित्रै बसेका थिए । बाल सुधारगृहको क्षमता ५० जनाको मात्र भए पनि हाल त्यहाँ २५५ जनालाई राखिएको छ । जसमध्ये १२४ जना १८ वर्ष नाघिसकेका छन् । भागेका केही बाल बिज्याइँकर्ताले भने होटेलमा गएर अब हामी नै सेना हो भन्दै धम्क्याएर खाने कुरा खाएका थिए । केहीले हातबाट फोनसमेत खोसेर भागेका थिए ।

आफैँ फर्के अठचालिस कैदीबन्दी 

इनरुवा समाचारदाता जयकृष्ण यादवका अनुसार सुनसरीको झुम्का कारागार कार्यालयको मूल गेटबाटै भागेका कैदीबन्दीमध्ये ४८ जना आफैँ फर्केका छन् । झुम्का कारागार कार्यालयबाट मङ्गलबार मध्यरातमा धम्की र आगजनीको त्रास देखाएर मुख्य गेटबाट भागेका कैदीबन्दीमध्ये विभिन्न ठाउँबाट बिहीबारसम्ममा ४८ जना आफैँ फर्केर आएको कारागारका जेलर सुभाष लामिछानेले जानकारी दिनुभयो ।

फर्केर आएकासहित बिहीबार २७५ जना कैदीबन्दी कारागारमा रहेका छन् । मङ्गलबारअघि कारागारमा एक हजार ७९९ जना कैदीबन्दी थिए । आफैँ फर्की आएका कैदीबन्दीलाई भित्र राख्ने काम भइरहेको र आउने क्रम जारी रहेको समेत लामिछानेले जानकारी दिनुभएको छ । झुम्का आसपासका १६ जनाले बुधबार आत्मसमर्पणसहित फिर्ता आएको र बिहीबार ३२ जना कारागार कार्यालयमा आएको बताउनुभयो । उहाँका अनुसार पुरुष मात्रै राखिने देशकै दोस्रो ठुलो कारागार भएकाले फर्किने सबै पुरुष रहेको जेलर लामिछानेले जानकारी दिनुभयो । 

इन्सेकद्वारा कारागार अनुगमन 

यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरी र प्रदेश कार्यालय विराटनगरले अनुगमन गरेको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रमुख मनोहर पोखरेल र सुनसरी प्रतिनिधि जयकृष्ण यादवले कारागारको अनुगमन गर्नुहुँदै जेलरसँग अवस्थाबारे जानकारी लिनुभएको छ । जेलरले मानवीय र भौतिक क्षति हुने देखिएकाले सुरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी पछि आएको नेपाली सेनाले समेत कैदीबन्दीलाई गेटबाटै भाग्न दिएको जानकारी दिनुभयो । अवस्था काबुबाहिर गएकाले अवस्थाको विश्लेषण गरेर भाग्न दिएको बताउनुभयो । 

ओखलढुङ्गा कारागार सामान्य अवस्थामा

ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गाको कारागार भने सुरक्षित रहेको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीका अनुसार कैदीबन्दीले बुधबार सामान्य विरोध गरेका भए पनि सम्झाइबुम्झाई स्थिति सामान्य पारिएको छ । 

उहाँका अनुसार ३० जनाको क्षमता रहेको कारागारमा हाल ७७ जना कैदीबन्दी छन् । ५९ जना कैदी र १८ जना बन्दी छन् । तीमध्ये महिला कैदी सात जना छन् । कारागारको सुरक्षा हाल नेपाल प्रहरी र नेपाली सेनाले गरिरहेको छ । यसैबिच यहाँ बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेघाज्ञा जारी गरिएको छ । जिल्लाभर सबै प्रकारका सभा, जुलुस, प्रदर्शन, नाराबाजी र कोणसभामाथि निषेधाज्ञा लागु गरिएको प्रजिअ मग्रातीले जानकरी दिनुुभयो । 

बयान्नब्बे थुनुवा भागे

आन्दोलनकारी झापाका प्रहरी कार्यालयलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयमा रहेका ९२ जना थुनुवालाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनकारीले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवालाई जबरजस्ती भगाएको उल्लेख गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट पाँच जना गरी जम्मा ९२ जना फरार भएका छन् । फरार हुनेमा हत्या, डकैती, लागुऔषध कारोबार जस्ता अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।