मधेश प्रदेश ब्युरो
जनकपुरधाम, भदौ २७ गते । प्रशासनले मधेश प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था विश्लेषण गर्दा अवस्था सुधार हुँदै गए पनि पूर्ण रूपमा सहज भने भएको छैन । जिल्लाको आवश्यकता अनुसार स्थानीय प्रशासनले कफ्र्युको समय थपघट गर्दै आइरहेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार बजार पूर्ण रूपमा बन्द रहे पनि नगरक्षेत्रमा भिडभाड नगरी सर्वसाधारणको आवतजावत रहिरह्यो । नगरक्षेत्रमा आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण उत्पन्न भएको फोहोर व्यवस्थापनमा स्थानीय सक्रिय देखिए । आगजनी तथा तोडफोड भएका कार्यालयमा कर्मचारीले बचेका सरसामान र आगजनीले खरानी बनेका सामग्रीको व्यवस्थापन गर्न लागेका छन् । बिहीबार मधेश प्रदेशको आठ वटै जिल्लामा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाह हुन सकेको छैन । धनुषा समाचारदाताका अनुसार बिहीबार धनुषा जिल्लाभरि बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा र बेलुकी ६ बजेपछि भदौ २७ गते बिहान छ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
महोत्तरी समाचारदाता नागेन्द्र कर्ण र जलेश्वर समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरीमा स्थानीय प्रशासनले केही खुकुलो गरेपछि जनजीवन समान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार कफ्र्यु र निषेधाज्ञाको नयाँ तालिका सार्वजनिक गर्दै सर्वसाधारणलाई खुकलो गरेपछि जनजीवन सामान्य बन्दै गएको हो ।
बिहीबार बिहान ११:३० बजेदेखि साझ ७ बजेसम्म जिल्लाभरि निषेधाज्ञा लगाइएको थियो । शुक्रबार २७ गते बिहान ६:३० देखि ७ बजेसम्म निषेधाज्ञा रहने महोत्तरी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा नहुन, कफ्र्युको समय आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, समूह बनाई हिँडडुल, बैठक वा घेराउ गर्न सख्त मनाही छ, जिल्ला प्रशासनको सूचनामा भनिएको छ ।
कल्याणपुर समाचारदाता विनय कर्णका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले कफ्र्युको आदेश केही खुकुलो पारेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान १० बजेदेखि ५ बजेसम्म र बेलुका ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कफ्र्युको आदेश जारी गरेको हो ।
जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार बिहीबारदेखि अर्को आदेश नभएसम्म जिल्लाभरि तोकिएको सीमाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आमसर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै केही खुकुलो बनाएका छौँ । यसको समीक्षा गर्दै शुक्रबार बिहान थप निर्णय गरिने छ ।” कफ्र्युको आदेश जारी भएपछि सदरमुकाम राजविराज दुई दिनदेखि सुनसान छ भने जिल्लाको अन्य स्थानमा पनि कुनै अप्रिय घटना भएको छैन ।
लहान समाचारदाता जीवछ यादवका अनुसार भदौ २४ गते जेनजीले गरेको आन्दोलनमा लहानस्थित आधा दर्जन सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट करोडौँको क्षति भएको छ । लहान नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय सिराहा लहान, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि विकास बैङ्क र खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडमा यस्तो क्षति भएको हो । घरेलु तथा साना उद्योग कार्यालय सिराहा लहानमा अभिलेखको कुनै कागजसमेत नरहेको, बस्ने कुर्सी, पानी खाने गिलाससमेत आन्दोलनकारीले लिएर गएको र बाँकी रहेको दराज फर्निचरलगायतका सामग्रीसमेत खरानी भएको कार्यालय प्रमुख किशोरीशरण यादवले बताउनुभयो । उहाँले सुनाउनुभयो, “अब कार्यालय कसरी सञ्चालन गर्न ठुलो समस्या भयो ।” घरेलु कार्यालयसँगै जोडिएर रहेको लहान नगरपालिका डिभिजन वन कार्यालय लहान–७, दुर्गामन्दिरनजिक रहेको आन्तरिक राजस्व कार्यालय र लहान–८ मा यातायात कार्यालयमा भएको क्षतिबारे यकिन भएको छैन । लहान–१ मा रहेको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको हजारौँ बोरा चामल र चिनी गोदामको ताला तोडेर आन्दोलनकारीले लगेका छन् । जिल्ला ट्राफिक कार्यालय लहान र इलाका प्रहरी कार्यालयलगायतको भौतिक क्षतिबारे अहिले यकिन नभएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले बताउनुभयो । यसै गरी गोलबजार नगरपालिका, सिराहा नगरपालिका र कल्याणपुर नगरपालिकासमेत तोडफोड र आगजनीबाट भएको क्षति उल्लेखनीय रहेको यसको क्षतिबारे यकिन हुन नसकेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो । २०६३ साल मधेश आन्दोलनमा भएको क्षतिपूर्ति गर्न र कार्यालयको कागजात मिलाउन निकै समय लाग्दा स्थानीय जनताले नै खेपेको सास्ती फेरि भोग्नुपर्ने देखिएको छ ।
सर्लाही समाचारदाता जर्नाजन खत्रीका अनुसार सर्लाहीमा बुधबार बिहानदेखि जारी भएको कफ्र्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै लैजाने निर्णय गरिएको छ । बिहीबार दिउँसो सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा परिस्थितिका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जिल्लाभर जारी गरिएको कफ्र्यु आदेशलाई खुकुलो पार्दै लैजाने निर्णय गरेको हो । बैठकले सदरमुकाम मलङ्गवामा भने शुव्रmबार राति ८ बजेसम्म नै पूर्वमा झिम नदी, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरी गण र दक्षिणमा नेपाल–भारत सीमाभित्र कफ्र्युलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सदरमुकाम मलङ्गवाबाहेक अन्य ठाउँमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नहुँदासम्म कफ्र्यु हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सिडिओ श्रेष्ठका अनुसार अत्यावश्यक कार्यका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७:३० बजेसम्म आवतजावत खुला गर्ने निर्णय गरिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन रोकिएसँगै बुधबारदेखि नै जिल्लाको अवस्था सामान्य छ । बजार र यातायात सञ्चालनमा नआउँदा भने स्थानीयलाई समस्या परेको छ । बैङ्क तथा वित्तीय संस्थासमेत बन्द रहँदा सेवाग्राहीलाई मार परेको छ । आगलागीबाट ठुलो क्षति बेहोरेका यहाँका लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपुरलगायत पालिका र वडा कार्यालयले तत्काल सेवा सञ्चालन हुन नसक्ने सूचना जारी गरेका छन् । आगलागीबाट पालिकाको भवन, सवारीसाधन र उपकरण नष्ट भएकाले केकसरी सेवा सूचारु गर्ने भन्ने अन्योल रहेको जनप्रतिनिधिले बताएका छन् । जिल्लामा कफ्र्यू आदेश जारी नै रहेकाले आगलागी तथा तोडफोड नभएका सरकारी कार्यालय तथा निकाय पनि सञ्चालनबारे अन्योलता नै रहेको छ । जिल्लाका सुरक्षा निकाय तत्काल सुरक्षा प्रबन्ध मिलाउनमा नै ब्यस्त रहेका छन् । बुधबार बिहानैदेखि यहाँको सडक, बजारमा नेपाली सेना तैनाथ भएर सुरक्षा प्रदान गरिरहेका छन् ।
चन्द्रपुर समाचारदाता प्रवीणकुमार शर्माका मङ्गलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनापछि भयावह भएको रौतहटको अवस्था बिहीबारदेखि सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सूचना जारी गर्दै भदौ २४ गतेदेखि जिल्लाभरि लगाइएको कफ्र्युको कारणले आमसर्वसाधारणको दैनिक जनजीवनमा परेको असरलाई ध्यानमा राखी भदौ २६ गते साँझ ५ बजे देखि ७ बजेसम्म दुई घण्टाका लागि दैनिक खाद्यान्न सामग्रीलगायत दैनिक जनजीवनसँग सम्बन्धित अत्यावश्यक सेवा सञ्चालनका लागि कफ्र्यु हटाइएको जनाएको छ । उक्त समयमा अनावश्यक भिड जम्मा हुन तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो ।
कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार बारा जिल्लामा लागु गरिएको निषेधाज्ञा र कफ्र्यु हटाइएपछि जिल्लामा नागरिकको जनजीवन सहज बन्दै गएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचना अनुसार शान्ति सुरक्षा र विपत् व्यवस्थापनबाहेकका नियमित प्रशासनिक सेवा भने भदौ २७ गतेसम्म बन्द रहने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा सेवा बन्दका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागिएको छ, साथै उहाँले जिल्लाभर निषेधित क्षेत्र वा कफ्र्युको अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । स्थानीय प्रशासनले अवस्था सामान्य बन्दै गएकाले सेवा चाँडै नियमित गरिने जनाउँदै नागरिकलाई संयमित र सहकार्यपूर्ण ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ ।